दमक,२५ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई दमक यातायात तथा टाफिक व्यवस्थापन समितिले स्वागत सम्मान कार्यक्रम गरेको छ । दमक नगरपालिका मातहतको सो समितिले आज बिहान औपचारिक कार्यक्रम गरी मन्त्री दाहाललाई सम्मान गरेको हो ।
सो अवसरमा मन्त्री दाहालले हालसालै भएको भारी बर्षा र बाढी पहिरोका कारण ठाउँ ठाउँमा भएको सडक अवरोध खुलाएर मन्त्रालयले सहजताको वातावरण बनाएको उल्लेख गरे ।
मन्त्री दाहालले सडक अवरोध खोल्न मात्रै २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अवस्था रहेको र अथक मेहनत र परिश्रमबाट देशभर क्रमश सहज वातावरण बन्दै गएको चर्चा गरे । भत्किएका पूल तथा सडकहरुको पूर्ण रुपमा निर्माणका लागि देशभर झण्डै रु २० देखि २५ अर्ब रुपियाँ लागत लाग्ने मन्त्रालयले प्रक्षेपण गरेको उनले जानकारी दिए । सो अवसरमा मन्त्री दाहालले गणतन्त्रात्मक व्यवस्था ल्याउन भएको जनआन्दोलनको भावना र मर्म अनुसार दलहरुले पनि भुमिका खेल्दै मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउने साझा संकल्प गर्नुपर्ने पनि जोड दिए ।
दमकका स्थायीबासिन्दा मन्त्री दाहाललाई समितिका तर्फबाट दमक २ का वडाध्यक्ष समेत रहेका प्रजापति सापकोटासहित समितिका सदस्यहरुले स्वागत सम्मान गरेका थिए । वडाध्यक्ष सापकोटाले यातायात तथा पूर्वाधार बिकाससँगै दमकको समग्र बिकासका लागि मन्त्री दाहालको ध्यानाकर्षण पनि गराएका थिए ।
मन्त्री दाहालले यसअघि बिहिबार झापाको कनकाई नगरपालिकाको खेलकुद प्रतिष्ठानले आयोजना गरेको सन्थाल सांस्कृतिक उत्सव तथा नृत्य प्रतियोगिताको उद्घाटन गरेका थिए ।