इलाम, २१ असोज । इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ । नगरले बाढी पहिरोमा परी नगर क्षेत्रभित्र ज्यान गुमाउनेका परिवारलाई तत्काल दुई लाख रुपियाँका दरले राहत स्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरले एकै परिवारका थप सदस्यको ज्यान गएको भएमा प्रतिसदस्य थप एक लाख रुपियाँका दरले रकम प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।
नगर प्रमुख तथा बिपद ब्यवस्थापन समितिका अध्यक्ष राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गर्दै विपतका कारण विस्थापित भएका घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने र आवश्यक राहत सामग्री तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरले उद्धार र राहतका लागि १४ वटै वडालाई सक्रिय गराएको छ । बैठकमा विपत व्यवस्थापनलाई प्रभावकारी बनाउन, जोखिमयुक्त क्षेत्रको पहिचान तथा दीर्घकालीन पूर्वतयारी योजनाबारे पनि विस्तृत छलफल गरिएको थियो । समितिको बैठकले आगामी दिनमा उद्धार तथा राहत संयन्त्रलाई सुदृढ बनाउँदै स्थानीयस्तरमै तत्काल प्रतिक्रिया दिने प्रणाली विकास गर्ने प्रतिवद्धता जनाएको छ ।
सूर्योदय १ मानेभञ्ज्याङमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको थियो । पहिरोमा परी मानेभञ्याङका ६५ बर्षीया मनमाया क्षेत्री, सोही ठाउँका १० बर्षीय बस्मिका क्षेत्री, दोलखा जिल्लाका ४५ बर्षीय दिप बस्नेत, दोलखाकै ४४ बर्षीय भवानी बस्नेत र दोलखाकै १२ बर्षीया दिब्या बस्नेतको मृत्यु भएको थियो । उनीहरु दसैं मनाउन आफन्तकोमा आएका थिए ।
यस्तै, सूर्योदय नगरपालिकामा बितरण हुँदैआएको खानेपानीमा ठुलो असर पहिरोले गरेपछि नगर क्षेत्रमा खानेपानी अभाव भएको छ । सूर्योदयका उपप्रमुख दुर्गाकुमार बरालले खानेपानीका पाइप धेरै स्थानमा बगाएका कारण मर्मत भइरहे पनि खानेपानी सूचारु हुन समय लाग्ने जानकारी दिए ।
सूर्योदय नगरभित्र सबै भन्दाबढी सडकमा क्षति पुगेको छ । सूर्योदय भएर माइजोगमाई जाने मयूखोलाको कल्भर्ट बाढीले बगाएको छ । फिक्कल नयाँबजार सडकका धेरै स्थानमा पहिरोले बगाएको छ । सूर्योदय नगरपालिका बन वातावरण तथा बिपद ब्यवस्थापन शाखाका संयोजक राजकुमार लिम्बूले सबै ठाउँका अवरोध हटाएर यातायत सञ्चालन गर्न समय लाग्ने बताए । उनले तत्कालका लागि बैंल्पिक मार्गको खोजीगरी यातायात सूचारु गरी दीर्घकालीन रुपमा यातायात सञ्चालनका लागि पहल थाल्नुपर्ने बताए ।