फोनिज प्रदेश १ को प्रादेशिक भेला सम्पन्न

ताप्लेजुङ, १३ असोज । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज ) प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्नभएको छ । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै प्रादेशिक भेला सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न भएको हो ।
भेलाद्वारा जारी घोषणापत्रमा पहिचान र ऐतिहासिकताको आधारमा प्रदेश १ को नाम किराँत लिम्बुवान नामाकरण गर्नुपर्ने, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमाथि हुँदै आएको अतिक्रमणको अन्त्य हुनुपर्ने, ताप्लेजुङको पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने लगायतका विषय समावेश गरिएको छ ।
फोनिज सङ्घीय समितिको तीन महिने सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत मङ्गलबार र बुधबार दुई दिन सञ्चालन भएको प्रादेशिक भेलामा फोनिज १ नम्बर प्रदेश समितिले गर्दै आएको साङ्गठनिक तथा आर्थिक गतिविधिबारे छलफल भएको थियो । भेलाको बन्द सत्रमा प्रदेश समितिका अध्यक्ष सन्तबीर लामाद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम देवान याक्खाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
यस्तै भेलामा प्रदेश १ का विभिन्न जिल्ला शाखाका अध्यक्षहरुले आ–आफ्नो प्रतिवेदन पेस गरेको फोनिज प्रदेश समितिकी उपाध्यक्ष अप्सरा समालमगरले जानकारी दिईन् । प्रादेशिक भेलाको उद्घाटन मङ्गलबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए । उद्घाटन समारोहमा जिल्लास्थित स्थानीय तहका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । उद्घाटनमा लिम्बू, गुरुङ (तमु), राई र शेर्पा समुदायका कलाकारले आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
यस्तै फोनिज सङ्घीय समितिका अध्यक्ष गजुरधन राई, उपाध्यक्षद्वय अमरध्वोज लामा, कमन देवान, लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास ) लगायतका पदाधिकारी तथा सदस्यको उपस्थितिमा प्रादेशिक भेला सम्पन्न गरिएको प्रदेश समितिका सचिव सन्देश सुब्बाले जानकारी दिए ।
यता आदिवासी जनजाति पत्रकारहरुको छाता सङ्गठन फोनिज १ नम्बर प्रदेशको ऐतिहासिक प्रादेशिक भेला ताप्लेजुङ शाखाको व्यवस्थापनमा सम्पन्न गर्ने अवसर प्राप्त भएकाले संस्थाको सुदृढीकरण साथै जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिएको शाखा अध्यक्ष दिनेश लिङ्खिमले बताए ।

Leave a Reply

Your email address will not be published.