
बिर्तामोड,१३ असोज । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा व्यवस्थित पार्किङस्थल नहुँदा सडक किनार नै पार्किङस्थल बनेको छ । जसकाकारण चार लेनको सडकको करिब आधा भाग सवारीसाधन पार्किङस्थलका रुपमा प्रयोग भइरहको छ ।
बजार क्षेत्रमा चार लेनको ठूलो सडक बने पनि सोको प्रत्याभूति हुनसकेको छैन । सडक किनारमा मोटरसाइकलदेखि मालबाहक ट्रकसमेत पार्किङ गरेर राखिँदा सडक खुम्चँदै गएको छ । सडक चारलेनको भए पनि आधा भाग अव्यवस्थित पार्किङले नै चर्चेको छ । जसले गर्दा बेलाबेलामा सडकमा ट्राफिक जाम हुने गरेको छ ।
“सडक किनारमा सवारीसाधन रोक्नुको विकल्प छैन”, कामको सिलसिलामा भद्रपुरबाट विर्तामोड आएका आदित्य पौडेल भन्छन्, “पार्किङ क्षेत्र छैन, सडक किनारमा मोटरसाइकल नराखेर कहाँ राख्नु ? ” विर्तामोडको भद्रपुर रोड मात्र होइन शनिश्चरे, काँकरभिट्टा, कृषिथोक रोडलगायतका साना–ठूला भित्री सडकसमेतको अवस्था भिन्न छैन । सडक क्षेत्रको आधा सडक नै ढाक्ने गरी सवारीसाधन पार्किङ गरिँदा सोही सडकमा हिँड्ने यात्रीले समेत सास्ती भोग्दै आएका छन् ।
विर्तामोडमा साना–ठूला दर्जनौंँ व्यापारिक प्रतिष्ठान खुलेका छन् । बजार क्षेत्रका सडक किनारमा सटरसहितका व्यापारिक प्रयोजनका ठूलाठूला घर बनेका छन् । तर, अधिकांश स्थानमा पार्किङको व्यवस्था छैन । भए पनि सानो र साँघुरो छ । विर्तामोडमा पार्किङ समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईं बताउँछन् । विर्तामोडमा पार्किङका लागि छुट्टै व्यवस्था नभएकाले दुर्घटनाको जोखिम बढेको उनले बताए ।
“सडक किनारमा पार्किङ गर्नु सवारीधनीको बाध्यता हो”, उनले भने, “तर, पनि उहाँहरुलाई अव्यवस्थित पार्किङ गर्ने छुट छैन ।”ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङ गर्नेलाई सम्झाइबुझाइ पठाउने गरिरहेको छ । अटेरी गर्नेलाई रू पाँच सयदेखि रू एक हजार ५०० सम्म जरिवाना गर्नुका साथै ह्वील लक, नो पार्किङमा राखिएका मोटरसाइकलको हेलमेट लगेर कारवाही गरिएको झापा ट्राफिकले जनाएको छ ।
यता, पार्किङस्थलको अभाव र अव्यवस्थित पार्किङका कारण यहाँका व्यापारीसमेत मर्कामा परेका छन् । “दसैं आउन लाग्यो, भर्खर व्यापार सुरु भएको छ”, भद्रपुर रोडका व्यापारी डम्बर श्रेष्ठले भने “पसल अगाडि गाडी राखेकाले पसल छेकिन्छ, व्यापार कसरी गर्नु ? ” त्यस्तै, अर्का व्यापारी अनन्तलाल महतोले बिर्तामोडमा पार्किङ गर्ने ठाउँ नभएको बताउँदै भने , “जताततै भीडभाड छ, पार्किङको राम्रो सुविधा भए सबैलाई सहज हुने थियो ।”
विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी नगरमा व्यवस्थित पार्किङका लागि आफू लागिपरेको बताउँछन् । विर्तामोडमा व्यवस्थित पार्किङका लागि सबैको सहयोग आवश्यक पर्ने भएकाले सहयोग गरिदिन उनले सबै सरोकारवालालाई आग्रह गरे।