दमक,१० असोज । कमल -५ मंगलवारेस्थित सगुन युवा क्लवले आज आयोजना गरेको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको छ । घटस्थापनाका अवसर पारेर आयोजना गरेको रक्तदानमा ११ महिलासहित ४०जनाले रगतदान गरेका थिए ।
चाडपर्वका समयमा रगतको अभाव हुन नदिन क्लवसहित पहिलो पाइला नेपाल, मंगलवारे वजार समितिको सहकार्यमा क्लवले खुला रक्तदान कार्यक्रम गरिएको क्लवका अध्यक्ष देवी आङदेम्बेले जानकारी दिए । रक्तदान रेडक्रस दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
यसैगरि,आजनै क्लवले नवनिर्मीत सामुदायिक भवनको उद्घाटन गर्नुका साथै निशुल्क आँखा शिविर समेत सम्पन्न गरेको थियो । क्लवको माथिल्लो तलामा निर्माण गरिएको कार्यालय कक्षसहितको नवनिर्मित सामुदायिक भवनको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे । क्लवका पूर्व अध्यक्ष समेत रहेका पालिका अध्यक्ष राईले समाज प्रति युवाहरुलाई खेलकुद ,मनोरञ्जनका माध्यमबाट जागरुक गर्नु पर्ने अझै खाँचो रहेको औल्याए । सामुदायिक भवन निर्माण गर्न गाउँपालिकासहित क्लवको आन्तरिक स्रोत गरि करिव ८ लाख रुपैयाको लागत रहेको जनाईएको छ ।
भवन उदघाटन कार्यक्रममा जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई, मंगलवारे वजार समितिका अध्यक्ष ललित वान्तवा, समाजसेवी ऋषिकेश सुवेदी , क्लवका पूर्व अध्यक्ष प्रमोद दाहाल,डम्बर राई लगायतको समेत उपस्थिति रहेको थियो ।
सोहि अवसरमा क्लवले दमकको बिर्ताज्योति उपचार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरेको निशुल्क आखाँ शिविरमा ११० जनाले परीक्षण गराएको सचिव रोशन दाहालले जानकारी दिए ।
