
दमक,३१ भदौ। झापाको दमक–६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज आफनो १० औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कोरोना महामारीका कारण यसवर्ष पनि सहकारीले प्रतिनिधिमूलक ढंगले साधारणसभा सम्पन्न गरिएको व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिए । साधारणसभा समापनका क्रममा संस्थाको अध्यक्ष दिपक खरेलले बार्षिक प्रतिवेदन र लेखा संयोजक राजकुमार न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दे संस्थाका अध्यक्ष खरेलले सहकारी संस्थाको मर्म अनुरुप सेवा,सुविधा दिन संस्था प्रतिवद्ध भएको जोड दिए ।
उनका अनुसार सहकारीले सदस्य केन्द्रीत आर्थिक कारोवारसंगै सदस्यका सुविधाका लागि ३ लाखसम्मको दुर्घटना विमा, १८ प्रकारका घातक रोगहरुको उपचारमा सहयोग, प्राकृतिक प्रकोप राहत, सदस्यको मृत्युभए अन्त्येष्टि तथा काजकिरया गर्न रु २१ हजार आर्थिक सहयोग ,ज्येष्ठ सम्मान, सदस्य परिवारका कक्षा १२ उत्तीर्ण जेहेन्दार विद्यार्थीलाई छात्रवृति लगायतका कार्यक्रम सञ्चालन हुदैआएको जानकारी दिए ।
उनले संस्थाले हाल झापाको केर्खा, विर्तामोड, सुरुङ्गा र बुधबारेमा सेवा केन्द्रहरु रहेकोमा चालू आर्थिक वर्षमा दूधे, धुलाबारी र मोरङको उर्लाबारीमा पनि सेवा केन्द्रहरु विस्तार गरिसक्ने गरी गृहकार्य भइरहेको जानकारी गराए ।

साधारणसभाका प्रमुख अतिथि रहेका दमक – ५ का वडाध्यक्ष इन्द्र गुरुङले दमकमा रहेको द एभरेष्ट सहकारी संस्थाले विधिसम्मत र व्यवस्थित ढंगबाट काम गरेकाले नै अहिलेको सफलता हासिल गरेको साथै आगामी दिनमा पनि सहकारीका नियम, सिद्धान्त र कार्यक्रमहरुलाई सफलतापूर्वक सञ्चालन गर्ने बताए । गत भदौ २८, २९ र ३० गते सबै सेवा केन्द्रका शेयर सदस्यहरुलाई वार्षिक प्रतिवेदन वितरण गरी साधारण सभामा सहभागी गराएर सम्पन्न भएको हो ।
साधारणसभा कार्यक्रममा संस्थाका सल्लाहकार समितिका संयोजक समेत रहेका संस्थापक अध्यक्ष रुद्रप्रसाद तिम्सिना र सदस्य दुर्गाप्रसाद शिवाकोटी, सचिव ज्ञाननाथ पौडेल (ज्ञानु), कोषाध्यक्ष यामजी श्रेष्ठ ,सञ्चालक सदस्य,विभिन्न उपसमितिका संयोजक,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सेवा केन्द्र इन्चार्ज धर्मानन्द भट्टराईले गरेका थिए ।
करिव ७२ करोडको कारोवार
कोरोना महामारीका बीच गएको वर्ष ७१ करोड ८१ लाख २२ हजार ६२४ रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै, संस्थाको शेयर पुँजी ६ करोड ६५ लाख २२ हजार ४ सय, निक्षेप ५८ करोड ५९ लाख ४१ हजार ४३४ र ऋण लगानी ६० करोड ५१ लाख २५ हजार ६३ रहेको उल्लेख गरिएको छ ।यसैगरि संस्थाले सरकारलाई आयकरवापत ४ लाख ६६ हजार ९८ रुपैया बुझाउनुका साथै ७७ लाख ६६ हजार ३ सय ७ रुपैया खुद मुनाफा गरेको छ । संंस्थामा हाल ७ हजार ६ सय बढी शेयर सदस्यहरु रहेका छन् ।