सुकुम्बासी समस्या समाधान गर्न भूमि आयोग गठन

झापा,३१ भदौ। सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको छ । भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधन गर्न नयाँ आयोग गठन गरिएको हो ।

यही मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वशिक्षक निरौलाको अध्यक्षतामा नयाँ आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगको उपाध्यक्षमा नेमेन्द्रबहादुर खड्का नियुक्त हुनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आयोगका अध्यक्ष निरौला र अध्यक्ष निरौलासमक्ष उपाध्यक्ष खड्काले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७६ अनुसार नयाँ आयोग गठन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेकपा ९एमाले० चितवनका नेता देवी ज्ञवाली नेतृत्वको आयोग संविधानअनुसार गठन नभएको ठहर गर्दै सरकारले गत साउन १९ गते खारेज गर्ने निर्णय गरेको थियो ।

आयोगका नवनियुक्त अध्यक्ष निरौलाले वर्तमान संविधानले बसोबास तथा जमिनको अधिकारबाट कसैलाई वञ्चित नगर्ने विषयलाई मौलिक हकका रूपमा राखेकाले आफ्नो कामकारबाही त्यसतर्फ केन्द्रित रहने प्रतिक्रिया दिए।
सरकारले आयोगको सदस्यहरू भने नियुक्त गरेको छैन । भूमिसम्बन्धी समस्या समाधान आयोग ७७ वटै जिल्लामा गठन गर्न पनि बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published.