इलाम, २९ भदौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वी मेचीनगरस्थित मेची भन्सार कार्यालय झापामा आगजनी गरेपछि त्यसको असर चिया निर्यातमा परेको छ । भारत निर्यातका लागि भन्सारमा पुगेको २५ हजार किलो चिया पनि जलेर ध्वस्त भएको छ ।
निर्यातका लागि भन्सारमा पुगेको इलामका पाँच कारखानाको चिया जलेर ध्वस्त भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जनाएको छ । इलामका समाल भ्याली, अन्तु अर्गानिक टी, श्री अन्तु, गोर्खा र दाजुभाइ टीबाट निर्यातका लागि भन्सार पुगेको चिया आगजनीमा ध्वस्त भएको एसोसिएसनका महासचिव गोपाल कट्टेलले बताए ।
जेनजी आन्दोलन पछि देशमा अन्योल भईरहेको बेला पूर्वका चिया कारखाना शनिबारदेखि सुचारु गरिएको छ । हरियो पत्ती नोक्सान हुने भएपछि कारखाना चालु गरिएको भन्दै महासचिव कट्टेलले भने , “अब तयारी गरेर राख्नुको विकल्प छैन । चिया क्षेत्रलाई ठुलो घाटा छ ।” विदेशबाट माग भएको चिया पनि पठाउने अवस्था नहुँदा समस्या भएको कट्टेलको भनाई छ ।
चालु आव २०८२-८३ को साउनमा ३७ करोड ४८ लाख २४ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । यो अवधिमा १२ लाख ९७ हजार २२ किलो चिया निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।