विश्वासिलो शाकोसको ११ औ बार्षिक साधारणसभा शुरु


दमक, २५ भदौं । दमक नगरपालिकाभित्र कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा शुरु भएको छ । दमक–६ वरपिपल चौंकमा अवस्थित विश्वासिलो शाकोस कार्यालयमा आज शनिबारदेखि शुरु भई सोमबारसम्म साधारणसभाका कार्यक्रमहरु सञ्चालन हुने सहकारीले जनाएको छ ।
सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा भएको बार्षिक साधारणसभाको उद्घाटन दमकस्थित राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख मुना केसीले गरिन् । उद्घाटन अवसरमा केसीले देशमा चरम आर्थिक समस्याकाबीचमा बैक र सहकारी संस्थाले बजारमा आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको बताइन् ।
कोभिडको संक्रमणपछि देशभित्र मात्रै नभएर विश्वमा नै आर्थिक गतिविधिहरु प्रभावित भईरहेको भन्दै उनले यस्तो अवस्थाकाबीचमा पनि सहकारी संस्था र बैकले बजारमा आफ्ना सदस्यहरुलाई दिइरहेको सेवा र सदस्यहरुप्रति उत्तरदायित्वका साथ काम गर्नु नै महत्वपूर्ण भएको औल्याइन्।
सहकारी संस्थाकी सञ्चालक समिति सदस्य तथा ऋण उपसमितिकी संयोजक अनिमा गोले तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने उद्घाटनमा संस्थाका सल्लाहकार सदस्य तथा गोर्खा फाइनान्स बैंक दमक शाखा प्रमुख रजिन राई, सल्लाहकार सदस्य देबेन्द्र चेम्जोङ, सञ्चालक समितिकी उपाध्यक्ष सम्झना साँवा लिम्बू, निर्मला लावती, युवराज दंगाल, लेखा समिति सदस्य खेमराज पौेडेल, कविता फागो, माया राई लगायतको उपस्थिति रहेको थियो ।
आजदेखि सुरु भएको ११औं बािर्षक साधारणसभा सोमबारसम्म सञ्चालन हुने संस्थाका ब्यवस्थापक हरिप्रसाद दाहालले बताए । ब्यवस्थापक दाहालका अनुसार संस्थाका शेयर सदस्यहरुको सुविधाको निम्ति कार्यालयबाट बार्षिक साधारणसभामा प्रस्तुत भएको प्रतिववेदन र आवश्यक सल्लाह र सुझाव आदान प्रदान गरिने भएको छ । सो अवसरमा प्रमुख अतिथि तथा अतिथिहरुलाई संस्थाको तर्फबाट अध्यक्ष राईले मायाको चिनो प्रदान गरेका थिए । साधरणसभा उद्घाटन समारोहको सञ्चालन सञ्चालक समितिका सचिव सुमन कुमार राईले गरका थिए।

Leave a Reply

Your email address will not be published.