दुधे ,२५ भदौं । झापाको शिवसताक्षीमा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी फुटवल समितिको आयोजनामा हुने प्रतियोगितामा नगरका ११ वटा वडा र एउटा भेट्रानले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सुरेन लिम्बु (जय प्रकाश ) ले बताए ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल आगामी असोज १५ गते हुने छ । हरेक दिन एउटा खेल हुने अध्यक्ष लिम्बूले जानकारी दिए ।दक्ष खेलाडी उत्पादन गर्दै शिवसताक्षी नगरलाई खेलकूदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने उनले बताए ।
आयोजक समितिका आर्थिक विभाग प्रमुख गौरीभक्त जवेगुका अनुसार प्रतियोगिता सञ्चालनका लागि लागि कम्तिमा ४ लाख खर्चको अनुमान गरिएको छ । तर, पनि आयोजकले दर्शकका लागि खेल हेर्न निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मिलन चोक उत्तरको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका विजेताले प्रमाण पत्र, ट्रफी, मेडल र नगद ५१ हजार पाउने छ । यस्तै उपविजेताले पनि २५ हजार सहित अन्य पुरस्कार पाउने आयोजक समितिका सचिव पवन राईले जनाए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय, सर्वाधिक गोल कर्ताले २ हजार , म्यान अफदी म्याचका विजेताले ५ सय पाउने छन् ।
हङकङ ग्रुपबाट पहिलो र स्थानीय समाजसेवी अग्नी राईले दोश्रो पुरस्कार आयोजकलाई सौजन्य गरेको आयोजक समितिले जनाएको छ । यो संगै शिवसताक्षी नगरपालिका वडा नम्बर ९ले पनि १ लाख सहयोग गर्ने जनाएको बताईएको छ ।