गौहत्यामा संलग्न चारजनालाई प्रहरीद्धारा सार्वजनिक

दमक,२३ भदौं । झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं.३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी -२ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट ,बेलडाँगी -३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल,बेलडाँगी- ३ छाप्रो नम्बर एटु – १२० बस्ने बस्ने ३२ वर्षीय बिधान थापा र दमक -४ बस्ने ४५ बर्षिया गीता श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णबहादुर चन्दले बताए ।
महिला बाहेक अन्य सवै यसअघि बिभिन्न अपराधका घटनामा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुलाई शिविरबाट दुई दिन अघि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
भदौ १८ गते राति दमक २ बस्ने लक्ष्मण बिष्टको वडा नं. १ स्थित पानीट्याङकीनजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भेणी रहेको गाईलाई चोरी गरी गोठदेखि सय मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरुले काटेका थिए । टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा ,करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए ।
घटनापश्चात् फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा मानिससहित विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्दले बताए । उनका अनुसार घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरुको कोठाबाट भदौ २१ गते बरामद गरिएको थियो । उनीहरुमाथि पशुपंछीसम्बन्धी कसुरमा मुद्धा चलाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.