दमक ,२१ भदौ । झापाको दमकसहित पूर्वका विभिन्न शहरमा विहिबार राधाकृष्ण रथयात्रा निकालिएको छ ।भगवान् श्रीकृष्ण जन्माष्टमीको उल्लास मनाउन कृष्ण राधाकृष्ण रथयात्रा निकालिने परम्परा अनुरुप यसवर्ष पनि दमकसहित पूर्वका गौरीगञ्ज, बिर्तामोड, भद्रपुरमा राधाकृष्ण रथयात्रा निकालिएको हो ।
दमकमा श्रीकृष्ण रथयात्रा समितिको मुख्य आयोजना तथा स्थानीय एक दर्जन बढी सामाजिक तथा धार्मिक संघसंस्था समूहको सक्रिय सहभागितामा निकालिएको रथयात्रा अघिल्ला बर्षभन्दा व्यवस्थितसंगै वृहत भएको रथयात्रा आयोजक समितिका संयोजक रोहित आचार्यले बताएका छन् ।
दमक वजारको कृष्णमन्दिरबाट विशेष कार्यक्रम गरि निकालिएको रथयात्रा हनुमान मन्दिर, पशुहाट, दमक चौंक, बेलडागी रोड,भृकुटी चौक हुदै वजार परिक्रमा गरि पुनः शुभारम्भस्थलमा पुगेर समापन गरिएको थियो ।
रथयात्रालाई बाटो बाटोमा स्थानीय भव्य स्वागत गर्दै पुष्पबृष्टी गराएर स्वागत समेत गरेका थिए ।भगवान श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेर विजयी हासिल गरेकाले कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिने धार्मिक विश्वास रहिआएको छ । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।दमकमा श्रीकृष्ण रथयात्रा समितिको आयोजनामा बर्षेनी हुँदै आएको रथयात्रालाई यसपटक पनि निरन्तरता दिइएको हो ।
रथयात्रामा दमकका धार्मिक तथा सामाजिक संघ संस्थाहरु, मैथिली तथा मारवाडी समुदायको विशेष सक्रियता रहँदै आएको छ । रथयात्राले विभिन्न जाती समुदायलाई एकताको शुत्रमा बाँधेको देख्न सकिन्छ । रथयात्रामा दमकमा रहेका मारवाडी सेवा समिति, श्याम परिवार, दमक युथ क्लब, राधाकृष्ण मन्दिर, स्काउट, राधाकृष्ण किर्तन मण्डली, जाल्पादेवी किर्तन मण्डली, रोटरी क्लब अफ दमक, विभिन्न लायन्स क्लबहरु, दमक जेसीज,साथीभाई समूह, होटल व्यवसायी संघ , सानिमा विकास बैक लगायतले सहभागिता जनाएका थिए ।
यसैगरी विराटनगरमा प्रदेश एकमै सबैभन्दा धेरै भक्तजनहरुको सहभागितामा रथयात्रा निकालिएको छ भने गौरीगञ्ज,भद्रपुर लगायतका ठाउँमा पनि ठुलो संख्यामा भक्तजनहरु रथयात्रामा सहभागी भएका छन् । पछिल्ला वर्षहरुमा पूर्वी तराईका धेरै स्थानहरुमा राधाकृष्ण रथयात्रा निकालिने क्रम बढ्दै गएको छ ।
यसैगरि, श्रीकृष्ण जन्मअष्टमीका अवसर पारेर कमल ५ मंगलवारेस्थित सगुन युवा क्लवले पनि विभिन्न कार्यक्रम गरेको छ । बुधबार मंगलवारे वजारमा अघिल्ला बर्षझै यसवर्ष पनि श्रीकृष्णको पूजाआजा गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलकुद गरिएको क्लवका अध्यक्ष देबेन्द्रराज आङदेम्बेले बताए । खेलकुदमा विजयी हुनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३८ जना पक्राउ
रथयात्राका क्रममा अवन्च्छित गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ ।मोरङ प्रहरीले शंकास्पद गतिविधि गरेको र विगतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्नेमा ३० जना पुरुष र ८ जना महिला रहेका छ । पक्राउ परेका ३८ जनामध्ये ३२ जना भारतीय नागरिक छन् ।