दमक,२१ भदौ । झापाको दमकमा सम्पन्न प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिता –२०८०को उपाधि संखुवासभाको सभापोखरी भलिबल टिमले जितेको छ ।दमकस्थित प्रदेशस्तरीय भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आज सम्पन्न प्रतियोगिताको फाइनलमा खोटाङ भलिबल क्लबको टिमलाई ३–० को सोझो सेटमा हराउँदै सभापोखरीले उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै सभापोखरीको टिमले नगद रु ५१ हजार रुपैयाँ राशीको पुरस्कार हात पारेको छ भने उपविजेता खोटाङले नगद रु ३१ हजार रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल भोजपुरको टिमले नगद रु १५ हजार रुपैयाँ हात पारेको छ । विजेता तथा उपविजेता टिमले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् ।
गत १९ भाद्रदेखि शुरु भएकोे कोशी प्रदेशस्तरीय सो खुल्ला महिला भलिबल प्रतियोगिताको बेस्ट सेटर सभापोखरीकी तनु श्री, बेस्ट ब्लकर पाम्पी, वेस्ट डिफेन्सर लिबेरो पिएली, म्यान अफ दि सिरिज सर्मिष्टा, बेस्ट सर्भिसको उपाधि भोजपुरकी सोमा श्रेष्ठ र बेस्ट स्पाइकर खोटाङकी अञ्जली खडका र वेस्ट कोचका रुपमा सभापोखरीकी सतिस चौधरी पुरस्कृत भईन् ।
दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यता र भलिबल प्रशिक्षण केन्द्रका सदस्य समेत रहेका अन्तराष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता तथा उपविजेता खेलाडीहरुलाई भलिबल संघकी केन्द्रीय सल्लाहकार ज्योति केसी, वरिष्ठ भलिबल प्रशिक्षक कपिलकिशोर श्रेष्ठ, प्रशिक्षक एवं झापा खेलकुद सहायक प्रशिक्षक हेमा थापा, कोशी प्रदेश रेफ्रि कमिसन सदस्य रोशन दाहाल लगायतले पनि पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
तीन खेलाडीलाई सम्मान
यसैबीच प्रतियोगिताको समापन कार्यक्रममा झापा खेलकुदकी सहायक प्रशिक्षक हेमा थापा, पूर्व राष्ट्रिय खेलाडी अञ्चल धिमाल तथा हिमालय माविका प्रधानाध्यापक द्रोण श्रेष्ठलाई सम्मान गरिएको छ । नगर उपप्रमुख भट्टराईले तीनै जना खेलाडीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मान पत्र हस्तान्तरण गरिन् ।
सोही अवसरमा भलिबल संघकी केन्द्रीय सदस्य ज्योति केसीले सो प्रशिक्षण केन्द्र सञ्चालनका लागि रु १ लाख ५० हजार रुपैयाँ बराबरका आवश्यक खेलकुद सामग्री प्रदान गर्ने घोषणा गरेकी प्रशिक्षण केन्द्रका सचिव राजु श्रेष्ठले जानकारी दिए ।