कमल,२१ भदौं । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कमलले शनिवार आईएलओ १६९ तथा युएनडिआरआईपी २००७ कार्यान्वयनबारे स्थानीय सरकार व्यवस्थापकीय अधिकार र सर्वोच्च अदालतको निर्देशनात्मक आदेश सम्बन्धि अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कमल -५ स्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको सभाहलमा भएको अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा संयुक्त राष्ट्र संघले १३ सेप्टेम्बर २००७ मा स्वीकृत गरेका बुँदाहरुमा आदिवासी जनजातिलाई आफनो पहिचान , संस्कृति,भाषा,मर्म परम्परा र जीवनशैली जोगाउने अधिकारका विषयमा जानकारी गराईएको थियो ।
आदिवासीहरुकालागि संयुक्त राष्ट्र संघले १३ सेप्टेम्बर २००७ मा स्वीकृत गरेका बुँदाहरुमा नेपालले पनि समर्थन गरेको थियो र नेपालले समर्थन गरेका बुँदाहरुमा नेपालमा रहेका आदिवासी-जनजाति समुदाय ( राई, लिम्बू , गुरुङ, मगर, नेवार, तामाङ, थारु, शेर्पा आदि) को अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको छ ।
जस अन्तरगत आदिवासी जनजातिहरूले आफ्ना भाषा, लिपि, संस्कृति, धर्म र परम्परा जोगाउने अधिकार पाउँनुका साथै नेपालको संविधान २०७२ ले पनि भाषिक र सांस्कृतिक अधिकारलाई मान्यता दिएको छ । आदिवासीहरुको परम्परागत जल, जंगल र जमिन लगायत प्राकृतिक स्रोतहरूमा अधिकार सुरक्षित गर्नुपर्ने प्रावधान छ । अभिमुखीकरण कार्यक्रमका सहजकर्ता आदिवासी जनजातिहरुको वकिल समूह (लाहुर्निप ) का सचिव अधिवक्ता भिम राईले आइएलओले निर्देष्ट गरेका कार्यान्वयनको विविध विषयमा जानकारी गराएका थिए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा बोल्ने बक्ताहरुले संविधानले प्रदान गरेका आदिवासी जनजाति सम्बन्धी प्राप्त हकअधिकार कार्यान्वयन गर्न,गराउन स्थानीय सरकारनै पहिलो सरकारी तह भएकाले यसको कार्यान्वयनमा स्थानीय सरकार प्रमुखको भूमिका महत्वपूर्ण हुने औल्याएका थिए ।
उनीहरुले आदिवासी जनजातिहरूकालागी अनुकुल कानुन बनाउन राज्यले स्थानीय सरकारलाई अधिकार प्रदान गरेको भएपनि कतिपय कानुन अस्पष्टता , राज्यनै उदासीन हुदाँ संविधान र न्यायिक निकायले गरेका त्यस सम्बन्धी निर्णय , फैसला कार्यान्वयन अझै नहुनु दुखको विषय भएको उल्लेख गरे ।
आदिवासी जनजातिले पाउने हकअधिकारहरु कार्यान्वयन गराउन उदासीन हुनु देशका शासक मात्र नभएर राजनीतिक दलहरु पनि मुख्य कारक भएको उनीहरुको दावी थियो ।
अभिमुखीकरण कार्यक्रममा कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, राष्ट्रिय आदिवासी महिला महासंघ झापाका पूर्व अध्यक्ष सुमित्रा वाङ्गदेल चेली लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघ कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरिया, नेफिन झापाका पूर्व अध्यक्षहरु पारषमणि राई,भरत श्रेष्ठ, प्रेमकुमार घिसिङ, कमल ४ का वडाअध्यक्ष चन्दप्रसाद भट्टराइ, आदिवासी रंगशालाका कार्यवहाक अध्यक्ष दिपेनवाला राई, गाउँपालिकामा रहेका १९ वटा जातिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ समन्वय परिषद् कमलका उपाध्यक्ष तिर्थ कुमार ताजपुरियाले गरेका थिए ।