मोरङ,२१ भदौं । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ पशुपति टोलमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा परेर ५ वर्षीय बालकको मृत्यु भएको छ । ठक्करबाट ज्यान जानेमा बुढीगंगा गाउँपालिका वडा नम्बर ४ बस्ने सबहरी पौडेलका ५ बर्षिय छोरा शम्भु पौडेल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ गइरहेको प्र १–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।
दिउँसो करिब ४ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सुनसरीको दुहबी नगरपालिका–११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई पक्राउ गरिएको प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।