मोडल शाकोसको साधारणसभा सम्मान तथा पुरस्कार

दमक ,२० भदौं । झापाको दमक नगरपालिका वडा नं ६ रहेको मोडल बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रम गरि संस्थाले विभिन्न बिधाका उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

सभामा संस्थाका अध्यक्ष भोला बरालले सञ्चालक समितिको तर्फवाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।यस्तै ,लेखा सुपरिवेक्षण समितिका तर्फबाट लेखा संयोजक विशेश्वरप्रसाद मिश्रले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सभाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको सभामा उत्कृष्ठ कारोवार तर्फ १६ जना , ज्येष्ठ सदस्यतर्फ २७ जना शेयर सदस्यहरुलाई सम्मान प्रदान गरिएको थियो ।

साधारणसभा उद्घाटनमा प्रमुख अतिथि कोइराला, सुर्यमुखी कृषि सहकारी दमकका अध्यक्ष चुडामणि ओझा, दमक उद्योग वाणिज्य सघका अध्यक्ष गोपाल गुरागाई लगायतले सहकारी सदस्य केन्द्रीत बनेमात्र संस्था मजवुत हुने जोड दिएका थिए । संस्थाकी कोषाध्यक्ष कुशदेवी लामिछानेले स्वागत मन्तव्य राखेकी सो सभामा सहकारीका शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
९ सय ३३ जना शेयर सदस्य रहेको यस संस्थामा ५ करोड ६५ लाख ३९ हजार ५ सय ९० निक्षेप , ऋणतर्फ ६ करोड १४ लाख ३३ हजार ९ सय ४० रुपैया पुगेको प्रतिवेदनमा उल्लेख छ ।साधारणसभाको सञ्चालन सचिव दिपक बरालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.