दमक ,१६ भदौ । कांग्रेस झापाको राजनीतिमा पार्टी केन्द्रमा वर्चस्व राख्ने युवा नेताहरुको आकर्षण बढेको छ ।श्रावणमा बसेको केन्द्रिय समितिको बैठकले कांग्रेस भित्र विशेष आन्तरिक अभियान चलाउने निर्णय गरेपछि युवा नेताहरुको रोजाईमा झापा जिल्ला पर्दै आएको छ । कांग्रेसको आन्तरिक बहसमा झापा जिल्ला एउटा महत्वपूर्ण जिल्लाका रुपमा रही आएको छ ।
खास गरी कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माको गृह जिल्ला झापामा कांग्रेस भित्र यि दुवै नेताबीच कसको वर्चस्व ? भन्ने बहस तिब्र रुपमा हुने गर्छ ।
यही बहसकाबीच कांग्रेसका युवा नेता महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मात्रै होइन १४ औं महाधिवेशनमा शर्मा थापाको चेपुवामा परेका अर्का युवा नेता एवं प्रखर वक्ता प्रदिप पौडेलको पनि आकर्षण झापा जिल्ला भित्रका कांग्रेसमाझ देखिन्छ ।
सिटौला समुहले कांग्रेस झापाको र तत्कालिन एक नम्बर (हालको कोशी)प्रदेशमा बर्चस्व राखेपछि महामन्त्री शर्मा र १३ औं महाधिवेशनमा नेता सिटौला पक्षबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका र १४ औं महाधिवेशनमा शेखर कोइराला समुहबाट महामन्त्रीका रुपमा आफूलाई उभ्याउन सफल भएका युवा नेता गगन थापा झापा केन्द्रित छन ।
त्यो पनि पार्टीका जिल्ला सभापति देउकुमार थेवेको निर्वाचन क्षेत्र झापा ४ मा महामन्त्री थापा लगातार पार्टीको आन्तरिक विशेष अभियान अन्तर्गतको शिवसताक्षी नगर सम्मेलन र क्षेत्रीय सम्मेलनमा समेत प्रमुख अतिथीका रुपमा आएका छन । झापामा प्राय जसो सिटौलाले पाउँदै आएको भुमिका यसपटक अर्का युवा नेता गुरुराज घिमिरेले पनि पाउँदै आएका छन । उनको प्रमुख आतिथ्यमा कांग्रेसको गौरादह नगर सम्मेलन सम्पन्न भइसकेको छ भने झापा ५ (ख) को सम्मेलन पनि नेता घिमिरेकै प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
संयोग यस्तो पनि छ कि आज (शनिबार) महामन्त्री थापा झापामा व्यस्त रहेकै समयमा झापाको क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र कको सम्मेलन उदघाटन गर्न अर्का युवा नेता पौडेल आएका छन । भाद्र २९ गते हुने पार्टीको झापा क्षेत्र नं ५ को क्षेत्रीय सम्मेलन उदघाटन गर्न महामन्त्री शर्मा दमक आउँदैछन । पार्टी क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले पार्टीमा युवा नेताहरुकै आकर्षण रहेको र कार्यकर्ताहरुको माग अनुसारनै नेता शर्मालाई प्रमुख अतिथीका रुपमा बोलाइएको बताए ।
सिटौला यसबीचमा झापा आउँदै नआएका भने होइनन । उनले साता अघि झापामा रहेर आफू निकटका नेता, कार्यकर्ताहरुसँग गोप्य भेटघाट गरे । १४ औं महाधिवेशनमा संस्थापन पक्षमा उभिएका नेता सिटौला उनकै गृह जिल्ला झापामा संस्थापन समुहसँग भने नजिकिन सकेका छैनन । उनले कोशी प्रदेशस्तरका आफना विश्वास पात्रहरुसँग विराटनगरमा भेटघाट र छलफल गरेका स्रोतले जनाएको छ । सिटौलामाथि झापामा यसअघि उनकै छत्रछायाँमा राजनीति गरेका युवा नेता महामन्त्री थापा र सधैं अस्वभाविक दुरीमा रहेका अर्का महामन्त्री शर्मा दुवै पक्षले प्रहार गरेको विश्लेषण कांग्रेस वृत्तमा भइरहेको छ ।
यसअघि नेता सिटौला गृह जिल्ला झापाका धेरै जसो गाउँ नगरस्तरदेखि क्षेत्रस्तरका पार्टी कार्यक्रमहरुमा प्रमुख अतिथीको भुमिकामा आउने गर्थे । यसपटक कांग्रेसमा चलेको परिवर्तन र रुपान्तरणको नारालाई युवा नेताहरुको आकर्षणले पनि पुष्टि गरिरहेको छ ।
कांग्रेस झापाको राजनीतिलाई नजिकबाट न्यालिरहेका एक जना नेता भन्छन यसले कांग्रेसप्रति जिल्ला तथा गाउँ, नगर तहका नेता, कार्यकर्ताहरुको आकर्षण युवा नेताहरुमा भएको संकेत गर्छ । यसलाई कांग्रेस नेतृत्वमा रहने जुनसुकै तहको नेतृत्वले बुझ्न जरुरी छ ।