उद्धेश्य अनुसार काम गरे सहकारीमा समस्या छैन् : डा. खतिवडा

दमक ,१२ भदौ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थाहरुले उद्धेश्य अनुसार काम गरे कुनै समस्या नहुने बताएका छन् ।सहकारी संस्थाहरु विभिन्न उद्धेश्यका हुने गरे पनि एउटै मात्रै बचत तथा ऋणको कारोबारमा केन्द्रित हुँदा सहकारी संस्थाहरु समस्यामा परेका खतिवडाको भनाई छ ।
आज उर्लाबारीमा आयोजित दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाको २७ औं बार्षिकोत्सव तथा २९ औ बार्षिक साधारण सभा समापन समारोहलाई सम्बोधन गर्दै खतिवडाले कोरोना संक्रमणपछि राज्यले सहकारी संस्थाहरुलाई दिएको सुविधाको मौका छोपेर दोब्बर कमाई हुने आशमा अन्य क्षेत्रमा उद्धेश्य विपरित लगानी गर्दा अहिलेको अवस्था आएको उल्लेख गरे ।
उनले सहकारीहरुले सेवा शुल्क लिनै नहुने बताउँदै सेवा शुल्क लिइनु नियम विपरित भएको प्रष्टयाए । सहकारीहरुमा कम्पनीको कारोबार बैधानिक नहुने उनको धारणा थियो ।
कम्पनीहरुले संस्थाको सदस्य बनेर ऋण लिनु सहकारीका लागि घातक हुने विश्लेषण सुनाउदै पूर्व गभर्नर समेत रहेका खतिवडाले व्यवसायिक क्षेत्रमा असफल भएपछि अहिले सामाजिक अभियन्ता बनेर हिंडने प्रवृत्ति बढेको भनि आलोचना गरे ।
एक अर्को प्रसंगमा पूर्व मन्त्री खतिवडाले सहकारी अभियन्ताहरुले अहिलेको सरकारले सहकारीहरुमाथि लगाएको करको भार हटाउन शसक्त आवाज उठाउनु पर्ने तर्क गरे । उनले भने ,–‘सहकारी अभियन्ताहरु पहिला पहिला म अर्थमन्त्री हुँदा टेवल ठटाउँदै जानुहुन्थ्यो , कुनै कुनै बिषय एकैदिनमा पनि निर्णय गरेर परिवर्तन गरेका थियौं, अहिले सहकारीमाथि करको भार थपिँदा पनि केही गर्नुभएको छैन् ।’
संस्थाका अध्यक्ष नारायण भटट्राईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रकुमारी थाम्सुहाङ्गले सहकारी क्षेत्रका केही मानिसहरुले गरेको गलत क्रियाकलापलाई निहुँ बनाएर यो क्षेत्रलाईनै बदनाम गर्ने गराउने प्रवृत्ती बढिरहेको बताईन् ।
सो अवसरमा महाप्रवन्धक थाम्सुहाङ्गलाई सो सहकारीले आफना संस्थापक अध्यक्ष स्वर्गीय गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापना गरिएको स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कार र मोरङ्गकी पत्रकार चिना थापालाई गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।
त्यस्तै मेची सहकारी पत्रकारिता पुरस्कार राजु पोखरेललाई प्रदान गरियो भने उत्कृष्ट सेवा केन्द्रका रुपमा विर्तामोड सेवा केन्द्रलाई पुरस्कृत गरिएको थियो । त्यस्तै पाँच जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको सहकारीका कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.