उर्लाबारी, भदौ १२ गते । मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी –४ स्थित ऊँ सत्य साई पेट्रोल पम्प छेउमा ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठक्कर हुँदा मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए।
उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समयपछि यादवको मृत्यु भएको थियो । । एमबीबीएस गरेका डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए । हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको बताइएको छ ।मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।