
दमक,१३ भदौ । झापाका स्थानीय तहले कोरोना जाँचका लागि गर्दे आएको निशुल्क पिसिआर नमुना संकलन कार्य वन्द गरेपछि सर्वसाधारणहरु मर्कामा परेका छन् ।
दमक नगरपालिकासहित जिल्लाका अधिकांस स्थानीय तहले पिसिआर परीक्षण बन्द गरेपछि सर्वसाधारणहरु मर्कामा परेका हुन् । दमक नगरपालिकाले एक सातादेखि यसअघि साताको सोमबार गर्देआएको पिसिआर जाँच वन्द हुदाँ सेवाग्राहीहरुले सास्ती खेप्नु परेको दमक ९ की मुना लिम्बूले वताए । उनले नगरपालिकाले परीक्षण कार्य वन्द गरेपछि विपन्न अवस्थाका मानिसले कोरोना परीक्षण गर्न समस्या आएको बताए ।
उनीसंगै तीन जनाको परिवारमा कोभिडसंग मिल्दोजुल्दो देखिएपछि परीक्षण गर्न कहाँ जाने भन्नेमा चिन्तीत छन् । महामारी रहेसम्म नगरपालिकाले पिसिआर परीक्षण सुचालु गर्नु प¥थ्र्यो भन्दै उनी भन्छन् , –‘ नगरपालिकाले सेवा बन्द गरेपछि हामी जस्ता सर्वसाधारणलाई पिसिआर जाँच गर्न समस्या आएको छ ।’
एक सातादेखि कोरोना जस्तो लक्षण देखिएपनि सजिलै परीक्षण गर्न नपाएको उनी गुनासो गर्छिन् । नगरपालिकामा वन्द भएपछि यहाँका नीजि स्वास्थ्य संस्थाले चर्को शुल्क लिएर पिसिआर जाँच गरिआएका छन् ।
कोरोना यकिन गर्न पिसिआर परीक्षण मात्र भरपर्दो मानिन्छ । एन्टीजेनबाट पनि कोरोना जाँच गरिने भएपनि त्यो विधि गुणस्तरिय नभएको स्वंम चिकित्सकको भनाई छ ।
नगरपालिकाले गत भदौ ११ गते सूचना निकालेर पिसिआर नमुना संकलन कार्य अनिश्चतकालका लागि वन्द गरेको जनाएको छ । वन्द किन गरिएको सूचनामा उल्लेख छैन् । तर नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईले कोरोना संक्रमण घट्दै गएपछि पिसिआर नमुना संकलन कार्य वन्द भएको बताउँछन् । दमकको बेलडाँगीस्थित कोभिड अस्पतालमा अघिल्लो सोमबार १६८ जनाको पिसिआर परीक्षण गरिएको थियो । त्यसमा २६ प्रतिशतमा संक्रमण देखिएको थियो । उनले पिसिआरको माग भएपनि खर्च धान्न समस्या भएपछि पिसिआर नमुना संकलन कार्य रोकिएको बताए । जिल्लाका अन्यत्र सवै जसो स्थानीय तहले निशुल्क परीक्षण कार्य बन्द भएको बताउदै उनले भने –‘दमकमा पनि अन्य झै निशुल्क पिसिआर जाँच बन्द हुन पुगेको छ ’
दमकमा निशुल्क पिसिआर परीक्षण कार्य तत्काल नगर्ने नगरपालिका स्रोतले जनाएको छ । संक्रमणको जोखिम केहि घटेसंगै पिसिआर परीक्षण कार्य पनि बन्द गरिएको उनले जनाए ।
दमकमा कोरोनाको दोश्रो भेरियन्ट यता नगरपालिकाले करिव २४ सय जनाको पिसिआर परीक्षण गरेको छ । त्यमध्ये आधा जतिमा संक्रमण भेटिएको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा महामारी ताका ४२ प्रतिशत ,त्यसपछि १८ प्रतिशत र अहिले संक्रमणको दर २६ प्रतिशतका हाराहारीमा रहेको छ ।
यता दमकका स्वास्थ्य संस्थाले कोरोनाको एन्टीजेन परीक्षणमा पनि मनपरी शुल्क लिदैआएका छन् । दमकको आम्दा अस्पताल बाहेक अन्य नीजि अस्पतालले भने १२ सय १६ सय सम्म रकम असुल गरिआएका छन् । अस्पतालले लिदैआएको त्यस्तो शुल्कका बारेमा समेत नियमकारी निकाय बेखबर बन्दैआएको छ । सर्वसाधारणको बुझाई छ ,–‘पिसिआर र एन्टीजेन परीक्षण शुल्कमा हिजोदेखिको वेथिति नियन्त्रण हुन सकेन । ’