उर्लाबारी ,१२ भदौ । मोरङको उर्लाबारीमा आगामी असोज ३ गते उर्लाबारी रनको सातौँ संस्करण आयोजना हुने भएको छ ।
सात वर्षयता सामुदायिक विकास मञ्च उर्लाबारीले संविधान दिवसको अवसरमा हरेक वर्ष उर्लाबारी रनको आयोजना गर्दै आएको छ । यस वर्ष विभिन्न स्थानका १ हजार ५ सय जना रनरले सहभागिता जनाउने अपेक्षा गरिएको संस्थाका अध्यक्ष प्रेम बोहोराले जानकारी दिए ।
‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नाराका साथ आयोजना गरिने प्रतियोगिताको खुलातर्फ पुरुष महिला दुवैतर्फ विजेतालाई ३०-३० हजार, दोस्रोलाई १५-१५ हजार र तेस्रो हुनेलाई १०-१०हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
यस्तै भेट्रानतर्फ गत वर्ष महिला रनरहरूको सहभागिता रहेको थियो भने यसवर्ष भेट्रान तर्फ पुरुष रनरहरूको मात्रै सहभागिता रहने आयोजकले जनाएको छ । भेट्रान पुरुष रनर विजेताले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । खुला र भेट्रानतर्फ १० किलोमिटर दुरीको दौड हुने आयोजकले जनाएको छ ।
यस्तै, १५ वर्षमुनिका बालबालिकाबिच ५ किलोमिटर दौड प्रतियोगिता गरिने भएको छ ।
जसमा महिला पुरुष दुवैतर्फ प्रथमलाई ५÷५हजार, दोस्रोलाई ३-३ हजार, तेस्रोलाई २-२ हजार र चौथोलाई १-१ हजार रुपियाँ प्रदान गरिने छ ।
यस्तै उर्लाबारी भरिका १५ वर्ष मुनिका रनरहरूको पनि यस पटक छुटै दौड प्रतियोगिता गराइने भएको छ । जसमा केटा र केटी दुवै तर्फ प्रथम हुनेलाई ४-४ हजार, दोस्रो हुनेलाई ३-३ हजार र तेस्रो हुनेलाई १-१ हजार रुपियाँ पुरस्कारका साथै सबै पुरस्कृतलाई मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष बोहोराले बताए । यस्तै संस्थाले भदौ १४ गते उर्लाबारीका ३२ वटा माध्यमिक तहका विद्यालयहरूलाई समावेश गराएर हाजिरीजवाफ प्रतियोगिता समेत गराउने भएको छ ।