
झापा,१० भदौ । झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी )को बैठकले भदौ २० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
बैठकले अन्य निर्णयहरुलाई यथावत राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ । अब ती पसलहरू बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुलाउन पाउनेछ ।
त्यस्तै होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरेको छ । कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जनाइएको छ ।