शुल्क बृद्धि नगर्न झापाका विद्यालयलाई विद्यार्थी संगठनको चेतावनी


झापा , ८ भदौ ।
कोभिडको वर्तमान अबस्थामा जथाभावी शुल्क नलिन विद्यार्थी संगठनहरुले झापाका विद्यालय सञ्चालकहरुलाई चेतावनी दिएका छन् ।
कोभिडका महामारीमा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन ती संगठनहरुले उल्लेख गरेका छन् ।
यस बिषम परिस्थितिमा विद्यार्थीहरुको शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने बहानामा झापाका कतिपय सामुदायिक एवं संस्थागत विद्यालय तथा क्याम्पसहरुले अभिभावकहरुबाट चर्को शुल्क असुलिरहेका खबर बाहिर आएपछि विद्यार्थी संगठनले त्यस्तो चेतावनी दिएका हुन् । आमविद्यार्थी र अभिभावकबाट आएको त्यस गुनासोप्रति गंभीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले त्यस्तो चेतावनी दिएका हुन् ।
संघका जिल्ला सभापति राजेन्द्र उप्रेती र अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले एक प्रेस विज्ञप्ति जारी गरी आफूहरुको आग्रहलाई बेवास्ता गर्ने प्रयत्न भएमा कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published.