दमक,७ भदौ । दमकमा यही भाद्र २२ देखि दोश्रो चुलाचुली कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।दमक -३ स्थित चुलाचुली फुटबल क्लबको आयोजनामा दमक ३ मा रहेको प्रस्तावित मदन भण्डारी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लास्थित १२ वटा टिमले भाग लिने जनाइएको छ ।
प्रतियोगितामा आयोजक चुलाचुली फुटबल क्लबसहित मिक्लाजुङको कालिदह फुटबल क्लब , सुनसरीको तालतलैया फुटबल क्लव ,मोरङको मंगलबारे फुटबल क्लब, मिक्लाजुङकै इष्ट स्टार स्पोर्टिङ क्लब, कोशी प्रदेश रानी प्रहरी विराटनगर , वाइएफसी पथरी, बिवाइसी बेलडाँगी, सिद्धार्थ युवा समाज सुन्दरहरैंचा, सिसौली एफसी, रियलय विष्ट एक्स एफसी र सिएफसी झापाले भाग लिने निश्चित भइसकेको आयोजक क्लबका अध्यक्ष सुजन निरौलाले जानकारी दिए । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।
असोज २ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित टफी, मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ । सो प्रतियोगिताको संरक्षक दमक नगरपालिका वडा नं ३ को कार्यालय रहेको छ ।