दमक,६ भदौ । किरात याक्थुङ् चुम्लुङ (कियाचु ) जापान शाखाले उच्च शिक्षाको अध्ययनको क्रममा जापानमा ज्यान गुमाएका २० बर्षिय बचन केदेमको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
स्व. केदेमका दिदी सुमित्रा केदेमको घरैमा पुगेर कियाचु जापानले संकलन गरि पठाएको १ लाख ४५ हजार ७ सय ४० रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको चुम्लुङ झापाका अध्यक्ष शेसेहाङ फियाकले बताए । सहयोग रकम कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, इक्सा सम्बाहाम्फे, राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिह सम्बाहाम्फे लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए ।
चुम्लुङ जापानले त्यहाँ बस्दैआएका ३४ जना नेपालीहरुबाट स्वेच्छिक सहयोग संकलन गरि पीडित परिवारलाई पठाईएको कियाचु जापानका अध्यक्ष सुदीप पालुङ्वाले बताएका छन् ।
ताप्लेजुङ,मेरिङदेन गाउँपालिका वडा न. २ घर भई दमक- ८ स्थित दिदी सुमित्रासंग बसेर अध्ययनका लागि जापान पुगेका थिए । दमकको पद्मा इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट जापानको आइची केनको नागोयास्थित नागोया एओ इन्टरनेशनल स्कूलमा भाषा विद्यार्थीको रुपमा पुगेको चार महिनामै अचानक बेहोस भई उनको निधन भएको थियो । उनी सन् २०२३ फ्रेबुवरी ८ का दिन जापान पुगी अध्ययन गरिरहेको अवस्थामा सन् २०२३ जुन २३ तारिख दिन उनको निधन भएको थियो ।