कमललाई दमकमा गाभेर उपमहानगर बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत

दमक,६ भदौ । कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगर वनाउने दमक नगरपालिकाको प्रस्तावप्रति कमलका दुई राजनीतिक दलले असहमति जनाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमाले कमलले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् । पार्टीका कमल अध्यक्ष दिपक खरेलको अध्यक्षतामा शनिबार बसेको पालिकास्तरीय बैठकपछि सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा कमल गाउँपालिकालाई समेत समावेश गरेर दमक नगरपालिकाको निर्णयानुसार उपमहानगर बनाउने भन्ने सनसनीपूर्ण चर्चाप्रति दुख व्यक्त गर्दै सबै पार्टीहरुको परामर्श बिना समानता र सहअस्तित्वको भावनालाई कुठाराघात गरि एकलौटी र मनोमानी ढंगले गरिएको एकल निर्णयप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको पनि उल्लेख छ ।
विज्ञप्तीमा विगतमा दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान कमल गाउँपालिकालाई पनि समावेश गरेर जानुपर्छ भन्दा वेवास्ता समेत गरिएकोले हालको निर्णय प्रति राप्रपा कमलको आपत्ति र असहमति रहेको पनि जनाउ दिइएको विज्ञप्तिमा उल्लेखछ ।
यसैगरि नेकपा एमाले कमलले पनि कमललाई एकतर्फी रुपमा दमकमा समावेश गरि दमक नगरपालिकाले उपमहानगर बनाउने प्रस्ताव प्रति आपत्ति जनाएको छ । नगरपालिकाले सहअस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाई समेत थाहै नदिई गरेको निर्णय प्रति दुख व्यक्त गरेको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीका गाउँ कमिटी अध्यक्ष भीमप्रसाद राई र सचिव हरि ढकालले संयुक्त विज्ञप्ति जारी गरि भनिएको छ ,‘ दिर्घकालीन महत्वका विषयमा निर्णय लिन जादाँ समान र सहअस्तित्वको नीति अङीकार गर्न आग्रह गर्दछौ ।’
एमाले कमलको हिजो बसेको बैठकले उक्त निर्णय गरिएको जनाईएको छ ।
दमक नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६ औ बैठकले कमललाई दमकलाई समावेश गरि उपमहानगर बनाउने निर्णय गरेको थियो । त्यस निर्णयलाई थप कारवाहकीका लागि नगरपालिकाले संघीय मन्त्रालयमा पत्रचार गरि कमललाई भने मिति २०७८ भदौ १ गतेको ३४५ चलानी नम्बर अनुसार बोधार्थ पठाएको थियो ।
यता, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी नेपाल लगायतका दलका स्थानीय नेतृत्वले भने कमललाई दमकमा गाभेर उपमहानगर बनाउने प्रस्ताव प्रति आफनो दृष्ट्रिकोण खुलेर बाहिर ल्याएका छैनन् ।

Leave a Reply

Your email address will not be published.