
दमक, ५ भदौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृह नगर झापाको दमकमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी )ले नगर स्तरीय भेला सम्पन्न गरेको छ । पार्टीको निर्देशन बमोजिम आज दमकमा नगर स्तरीय प्रारम्भिक चरणको भेला सम्पन्न गरिएको पार्टीले जनाएको छ ।
दमकस्थित एक होटलमा आयोजित भेलामा नेकपा (एमाले ) बाट बिभाजन भएर निर्माण भएको प्रस्तावित पार्टी र संगठनका नयाँ पुराना नेताहरुको सहभागिता रहेको थियो ।
सो भेलामा दमक नगरपालिकाका पूर्व प्रमुख एबम् नेता इन्द्रबहादुर बुढाथोकी, नेता राजेन्द्र दाहाल, व्यवसायी एबम् नेता टिकाराम प्रसाई, नेता महेश घिमिरे, तुलसी निरौला, चैतन्य लामिछाने (निर्मल ), युवा नेता कमल कटुवाल, सुमन कार्की, तीर्थ नेपाल, केशव दाहाल, विद्यार्थी नेता रोशन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
भेलामा पार्टी बिभाजन, पार्टी बिभाजनसँगै उत्पन्न राजनीति, बैचारिक र व्यवहारिक घटनाक्रम लगायत आगामी समयमा निर्माण हुने परिस्थितीका बारेमा आआफ्नो धारणाका साथै त्यसमाथि समीक्षा गरिएको भेलामा सहभागी एक नेताले जनायो ।
भेलामा सहभागीहरुले माधब कुमार नेपालले नेतृत्व गरेको पार्टी र बिचारलाई दमकमा थप गतिशिल र प्रभावकारी बनाउदै वडा र टोल स्तरीय रुपमा कार्यकर्ताबीचमा लैजान आवश्यक रहेको औल्लाएका थिए।
भेलाले दमकमा पार्टीको सम्पर्क कार्यालय स्थापना गर्ने, आउदो शनिबार दमक नगर स्तरीय पुष्पलाल मित्रता केन्द र अखिल फोर्स गठन गर्ने समेत निर्णय गरिएको नेता महेश घिमिरेले जानकारी दिए ।
नेता घिमिरेका अनुसार पुष्पलाल मित्रता केन्द्र २५ सदस्यीय हुने र दमकको १० वटा वडाबाट प्रतिनिधि मुलक रुपमै कमिटी बनाइने छ । त्यस्तैं, दमक नगर स्तरीय अखिल फोर्स गठन गरिने र क्रमशः महिला, किसान र मजदुरहरुको समेत संगठन बिस्तार गर्दै लैजाने भेलामा छलफल भएको नेता सुमन कार्कीले जानकारी गराए ।
पुष्पलाल मित्रता केन्द्र दमक नगर सम्पर्क कार्यालय देबकोटा चौकस्थित सिद्धी मार्केटमा स्थापना गरिएको छ ।
भेलामा बिद्यार्थी नेता मदन गुरुङ, दिपक भट्टराई, प्रज्वल भण्डारी व्यवसायी मदन ढकाल लगायतको समेत सहभागिता थियो । सो भेलाको अध्यक्षतासहित सहजिकरण नेता भीम दाहालले गरेका थिए ।