
मोरङ, ५ भदौ । विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई ठगिगर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् ।
उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी ूयहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैनू भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने गुनासोका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुले विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुस्ख हैरानी दिने गरेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी समुहको प्रहरी टोलीले भदौ ३ गते पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । यस्तो किसिमको कार्यबाट अन्य नागरिकपनि पीडित भएको वा त्यस्तो कार्यमा कसैको संलग्घनता रहेको पाइएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरिएको छ ।