विराटनगर,१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै आज संसद सचिवालयमा निवेदन दिएका हुन् ।
गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले सचिवालयमा दिएको निवेदनमा ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दब थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०–०५–०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम बिश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु,’ उल्लेख छ ।
विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएको संसद सचिवालयले जनाएको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।