दमक,१ भदौं । बिद्यार्थीहरुलाई व्यवहारिक सीपको अभ्यासका लागि झापाका केहि विद्यालयहरुले सीपमूलक पठनपाठन सञ्चालन गरिआएका छन् ।जिल्लाको कमल गाउँपालिका वडा न. ३ स्थित लालिमा अंग्रेजी माध्यमिक विद्यालयले साताको एक दिन सीपमूलक विशेष कक्षाको शुरुवात गरेको छ ।
नीजि तथा संस्थागत बिद्यालयहरुको छाता संगठन प्याव्सनका जिल्ला अध्यक्ष समेत रहेका सो बिद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागोका अनुसार साताको हरेक बुधबार बिद्यार्थीहरुलाई समूह समूह बनाएर विभिन्न किसिमका व्यवहारिक सीपबारे ज्ञान दिलाउने उद्धेश्यले किताबरहीत सीपमूलक शिक्षा विशेष कक्षा सञ्चालन गरिएको हो ।
बिद्यालयमा शुरु गरिएको सीपमूलक सो विशेष कक्षामा उत्साहपूर्वक बिद्यार्थीहरु सहभागी भएका छन् । सीपमूलक शिक्षा अन्तर्गत बिद्यार्थीहरुलाई हस्तकलाका सीपहरु सिकाउने व्यवस्था मिलाइएको छ । कक्षा ६ देखि १० सम्मका बिद्यार्थी (छात्र)हरुले बाँसका चोयाको डोको , पेरुङगो र कुखुरा बोक्ने , छोप्ने कार्यमा उपयोगी (खुँगी) बनाउन सिकिरहेका छन् भने छात्राहरुले टपरी र सिलाई बुनाइका बुन्ने सीप सिकिरहेका छन् ।
कक्षा ६ भन्दा मुनिका कक्षाका बिद्यार्थीहरुले भने कागज काटने, माटोका विभिन्न भाँडाकुँडा बनाउने जस्ता सीप सिकिरहेका छन् । बिद्यालयले ठुला बिद्यार्थीहरुका लागि इलेक्ट्रेसियन तथा मोवाइल मर्मत सम्बन्धीको सीप पनि सिकाउने लक्ष्य राखेको छ । प्रिन्सिपल फागोले भने –दुई दशक बढी मेरो शैक्षिक क्षेत्रको अनुभवमा पहिलोपटक सीपमूलक विशेष कक्षाको शुरुवात गरि व्यवहारिक शिक्षा दिलाउन शुरुवात गरेका छौं ।’
उनले काठमाडौंका केही बिद्यालयहरुको शैक्षिक पठनपाठनको अभ्यास देखेपछि आफूले पनि आफना विद्यार्थीहरुलाई यहाँको आवश्यकता अनुसारका सीप सिक्न प्रेरित गन थालिएको बताए । बिद्यार्थीलाई सिकाइने त्यस्ता व्यवहारिक सीप जानेका स्थानीय सिल्पीहरु हायर प्रशिक्षकको बन्दोबस्ती मिलाइएको छ ।
व्यवहारिक शिक्षाले परम्परागत घरायसी सामग्रीहरुको बारेमा बालबालिकालाई ज्ञान दिलाउनुका साथै श्रम र सीपको बानी बिकासमा समेत मद्धत पुरयाउँने भएकाले यस किसिमको सीपमूलक विशेष कक्षा सञ्चालन गरिएको फागोले बताए । यस किसिमको सीपमूलक शिक्षाले भोलिका लागि रोजगारीको माध्यम बन्न सहयोग पुग्ने विश्वास उनको छ । २०५३ सालमा स्थापना लालिमा बोर्डिङ स्कूल झापा जिल्लामै स्थापित बिद्यालय हो । यसले कक्षा १० सम्मको पठनपाठन गराउँदै आएको छ । हाल सो बिद्यालयमा ४ सय ५० जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
यसैगरि, दमक- ८ मा रहेको रोजियट बोर्डिङ स्कूलले पनि साप्ताहिक रुपमा विद्यार्थीका लागि सीपमूलक कक्षा सञ्चालन गरिआएको छ । स्कूलले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई पढाईका अतिरिक्त विभिन्न किसिमका सीपमूलक कक्षा सञ्चालन गरिआएको प्रिन्सीपल रुद्र दाहालले बताए । उनले बर्षदिन यता यस किसिमको कक्षाले विद्यार्थीहरुमा व्यवहारिक ज्ञानतर्फ उनीहरुको क्षमता बढ्दै गएको बताउँछन् । यस किसिमको कक्षाले विद्यार्थीमा क्षमता अभिबृद्धिमा टेवा पुगेको उनको बुझाई छ ।
यस्तै, दमक- ५ मा अवस्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल , दमक- ८ कै झापा मोडल अंग्रेजी बोर्डिङ स्कूलले पनि विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको विकासका लागि विभिन्न सीपमूलक अतिरिक्त कक्षा शुरुवात गरिआएका छन् ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले पाठ्यपुस्तकको शिक्षा अतिरिक्त विद्यार्थीको इच्छाअनुसारको विभिन्न सीपमूलक शिक्षाले व्यवहारिक मात्र नभएर जिविकोपार्जनका लागि पनि सहयोग पुग्ने बताईन् ।