दमक,३२ साउन । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरण का लागी दमकको सरकारी दमक अस्पतालमा सञ्चालन गरिएको ‘पेन प्लस’ कार्यक्रमको बारेमा आज दमकमा सरोकारवालाहरुवीच छलफल गरिएको छ ।
मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता नसर्ने रोगको परीक्षण, उपचार र औषधिलगायतको सेवाका बारेमा दमक नगरपालिकासहित आसपासका पालिका प्रमुख तथा प्रतिनिधिहरु वीच छलफल गरिएको हो ।
दमक नरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षता तथा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफल कार्यक्रममा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोईरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । दमक अस्पतालमा यो कार्यक्रम निशुल्क सञ्चालनमा रहेका र यस सेवाबाट नसर्ने रोगका बिरामीलाई उपचारमा सहज हुने उनले औल्याए । अहिले नेपालमा हुने मृत्युहरु मध्ये ७१ प्रतिशत नसर्ने रोगहरूकै कारण हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले यस्ता रोगहरु नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रूपमा आएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहकार्यमा यो कार्यक्रम लागू भएको होे ।
कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरूको अनुसन्धानात्मक उपचार गर्नका लागी दमक अस्पतालमा कार्यक्रम सञ्चालन भैरहेको भन्दै यसबाट लाभ लिन छिमेकी पालिकाका प्रतिनिधिहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा मोरङ,उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, ईलाम, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, झापा, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन कुमारी न्यौपाने लगायतले विलासी जीवनशैलीका कारण नसर्ने रोगको प्रकोप बढिरहेको बताउँदै यसको लागी सहकार्य गर्न आफुहरु तयार रहेको बताएका थिए ।