दमक,३२ साउन । दमक नगरपालिका भित्रका जीर्ण बनेका कालोपत्रे सडक मर्मत सम्भारमा लापरबाही गर्ने गरेको भेटिएको छ । दमक नगरपालिका पूर्वाधार शाखाका अनुसार विभिन्न सडकहरू मर्मत सम्भार हुँदै आएकोमा केही ठाउँमा लापरबाही भएको गुनासो आएको हो ।
दमक वडा नं. ३ स्थित ढुकुर पानी चौक उतर बेलडाँगी –कृष्ण मन्दिर सडक खण्ड अन्तर्गत ढुकुरपानी चौक दक्षिण विद्यालय क्षेत्रको भत्किएको सडक मर्मत कार्यमा चरम लापरबाही भएको स्थानीयले बताएका छन् । पानी परिरहेको समयमा राती १० बजे मर्मत सम्भार गरिएको र भोलिपल्ट नै मर्मत सम्भार गरेको स्थान उस्तै बनेको स्थानीय राम पौड्यालले बताए ।
सडक बोर्डबाट दमकका विभिन्न सडकहरू मर्मतका लागि अग्नि एन्ड सन्स कनकाई झापाले १ करोड १२ लाखमा ठेक्का सम्झौता गरेको दमक नगरपालिकाले जनाएको छ । यस अन्तर्गत नगरका विभिन्न १२ वटा सडकहरू मर्मत सम्भार गर्नु पर्ने सम्झौतामा उल्लेख रहेको छ । निरन्तर पानी परेको तथा वर्षाको समयमा काम भइरहँदा यसको प्रभावकारिताको विषयमा कुरा उठ्न थालेको छ ।
दमक नगरपालिकाको पूर्वाधार शाखाका इन्जिनियर अनन्त सेनेहाङ अनुसार आफूहरूले यस विषयमा निर्माण व्यवसायीलाई सचेत गराएको जनाए । कामको जाँच गरेर मात्र भुक्तानी हुने भएकाले सम्झौता बमोजिम काम नगरे बजेट निकासा नगर्ने सेनेहाङले बताए । पानीको परेको समयमा वा कालोपत्रे गर्न नमिल्ने अवस्थामा गरेको भए त्यो पनि सच्याउन लगाउने उनले बताए ।
ढुक्क हुँदा हुन्छ हामी ल्याब परीक्षण गरेर र मापदण्ड पूरा नभएसम्म भुक्तानी दिँदैनौ, उनको भनाई छ । पहिल्यै काम गर्नु पर्ने भए पनि नसकेर भदौसम्म समय थप भएको उल्लेख गर्दै उनले लापरबाही भइरहेको भन्ने गुनासो आएकाले अनुगमन गरेर मापदण्ड पूरा नगरेको ठाउँमा फेरी काम गर्न लगाउने समेत प्रतिबद्धता जनाए ।
दमक बसपार्कलाई सुरक्षित र व्यवस्थित बनाइँदै
दमक । दमक नगरपालिकाले दमक बसपार्कलाई व्यवस्थित गर्ने भएको छ । दमक नगरपालिकाको १३ औं नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने सम्बन्धमा सरोकारवालाहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले दमक बसपार्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक काम सुरु गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिए ।
नगर प्रमुख थापाका अनुसार बसपार्क हाताभित्र कुनै पनि अपराधिक गतिविधि तथा घटनाहरु नियन्त्रण सहित शान्ति सुरक्षाका लागि आवश्यक स्थानहरूमा सिसि क्यामारा जडान गर्ने गरी काम अघि बढेको छ । “यसको नियन्त्रण प्रणाली इलाका प्रहरी कार्यालय दमकबाट हुने व्यवस्था मिलाउने छलफलबाट निर्णय भएको छ”, थापाले भने । बसपार्क क्षेत्रमा चोरी तथा अन्य विभिन्न प्रकार अवाञ्छित गतिविधि हुँदै आएको व्यवसायीहरुले बताउँदै आएका थिए ।
यातायात व्यवस्थापन समिति अन्तर्गत गठित बसपार्क व्यवस्थापन उपसमितिलाई थप क्रियाशील बनाई बसपार्क हाताभित्र थप व्यवस्थापकीय काम सुरु गर्नेपनि थापाले जनाए । बसपार्कबाट पूर्वतर्फ नगरपालिका जाने मुल सडक हुँदै पूर्व पश्चिम लोकमार्गको रतुवा पुलसम्म कुनैपनि यात्रुवाहक सवारीसाधन बस, कार, भेन, टेम्पो, सिटि सफारीले स्टेण्ड कायम गरी रोक्न निषेध गरिएको छ ।
बसपार्क हाताभित्र रहेको टर्मिनल भवन वाहेक अन्यत्र टिकट बुकिङ्ग काउन्टर राख्न पूर्ण रूपले निषेध गर्ने र कहि कतै राखेको पाइएमा तत्काल हटाउने निर्णय भएको र भदौ १ देखि यसलाई पूर्ण कार्यन्वयन गरिने दमक वडा नं. ३ का वडाध्यक्ष एवम् दमक नगर यातायात व्यवस्थापन समितिका संयोजक प्रजापती सापकोटाले जानकारी दिए ।
दमकको मुख्य चोकमा दुर्घटना नियन्त्रणका लागि छोटो तथा लामो दूरीका यात्रुवाहक सवारीसाधनहरू अनिवार्य बसपार्क हाताभित्र प्रवेश गर्ने गराउने, पूर्व पश्चिम लोकमार्ग अन्तर्गत रतुवा पुलबाट पश्चिम बसपार्क प्रवेशमार्गसम्म सबै किसिमका तीनपाङग्रे र चारपाङग्रे सवारीसाधनहरू रोक्न निषेध गर्ने निर्णय भएको उनको भनाइ छ ।
गणतन्त्र चौक आकाशे पुलदेखि पश्चिम पशुपति आयल सेन्टर सम्म अटो, सिटि सफारि मुख्य ट्रयाकबाट सञ्चालन गर्न निषेध गर्ने जस्ता निर्णयहरु भएको सापकोटाले बताए । दमकको मुख्य चोकमा धेरै नै अस्तव्यस्त र दुर्घटना बढेपछि जनपथ प्रहरी, ट्राफिक प्रहरी, शशस्त्र प्रहरी, नगर प्रहरी सहितको सर्वपक्षिय छलफल र सहमतिमा नै यो निर्णय भएकाले कार्यन्वयन हुने सापकोटाले जानकारी दिए ।