झापा ,२८ साउन । झापाको अर्जुनधारास्थित बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ । दुई वर्षअघि भासिएको बिरिङ खोलाको पक्की पुल बुधबार दिउँसो बाढीले बगाएको हो । झापा र इलाम जोड्ने सो पुल बर्षाका कारण आएको बाढीले क्षतिग्रस्त बनाएको छ ।
बाढीले करिब २०–२५ मिटर पुलको भाग बगाएको हो । दुई वर्षअघि २०८० साउन २९ गते अर्जुनधारा वडा नं ७ स्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भासिएको थियो । गत जेठ १३ गतेदेखि बिरिङ खोलाको सो क्षतिग्रस्त पुलबाट स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी शनिश्चरेको पहलमा सवारी साधन आवागमन पूर्णरुपमा बन्द गराइएको थियो ।
शनिश्चरेबाट मिलडाँडा तर्फको बैकल्पिक बाटो प्रयोगमा ल्याई सवारी साधन आवागमन भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पटक–पटक स्थानीयलृ पुलको अवस्थाको विषयमा स्थानीय, प्रदेश र संघीय सरकार प्रतिनिधिलाई जानकारी गराए पनि यसको मर्मत तथा उक्त स्थानमा अर्को पुल निर्माणको कुनै पहल नहुँदा सर्वसाधारणले जोखिम पूर्ण यात्रा गर्दै आएका थिए । भारत सरकारको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो ।