फोनजद्धारा झापाका मुखिया सहितआठ पत्रकारलाई फोनिज अवार्ड

दमक, २३ साउन ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड )–२०७७ र २०७८ बाट आठ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।

फोनिजको २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गतेका दिन पत्रकारहरुलाई फोनिज अवार्ड पुरस्कार दिने निर्णय भएको फोनिजले जनाएको छ । त्यस्तै दुई वटा भाषिक सञ्चार संस्थालाई फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८ बाट पनि प्रदान गर्ने भएको हो ।

सल्लाहकार अनिता गुरुङको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा फोनिजले पुरस्कार दिने निर्णय गरेको हो ।

सोही अवसरमा फोनिज यूके शाखाले प्रदान गर्ने ‘फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान पनि वितरण गरिने फोनिज महासचिव मनोज घर्तीमगरबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष कोभिड १९ का कारण फोनिज अवार्ड बारे निर्णय हुन नसकेकोले यस पटक दुवै वर्षका लागि विभिन्न विधामा ८ जना पत्रकार छनौट गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

फोनिज अवार्ड २०७७ बाट छापातर्फ गोरखापत्र शेर्पा भाषा पृष्ट संयोजक आङदावा शेर्पा (काठमाडौं ), रेडियोतर्फ जलजला एफएमका मौसम रोकामगर (रोल्पा), टेलिभिजनतर्फ इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु तामाङ (काठमाडौं ) र अनलाइनतर्फ स्वतन्त्र पत्रकार राजकुमार दिक्पाल (पोर्चुगल ) पुरस्कृत हुने भएका छन् ।

त्यस्तै छापातर्फ स्वतन्त्र पत्रकार तिलक पुन (कास्की ), रेडियोतर्फ रेडियो नेपालकी रचना श्रेष्ठ (काठमाडौं ), टेलिभिजनतर्फ नेपाल टेलिभिजनमा कार्यरत इन्द्रजीत मुखिया (झापा ) र अनलाइनतर्फ झिल्को डटकमका भवानी बराल (सुनसरी) पुरस्कृत हुने भएका छन् । फोनिज सङ्घीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तान्छोपा मासिक संयुक्त रूपमा सम्मानित हुने भएका छन् ।

फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मानको राशी जनही २० हजार नगदसहित प्रमाण–पत्र, सम्मान–पत्र रहने छ ।

Leave a Reply

Your email address will not be published.