गौरादह, २१ साउन । झापाको गौरादहमा मोटरबाट सिंचाई गर्ने क्रममा विद्युत चुहिएर एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरादह नगरपालिका वडा न. ४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन सुब्बाका अनुसार आफ्नै घरदेखि १० मिटर पूर्वोत्तरमा रहेको मोटरबाट खेतमा सिँचाई गर्ने क्रममा उनलाई गएराति अचानक विद्युत चुहिएर करेन्ट लागेको थियो । करेन्ट लागेर चन्द्रमायाको घटनास्थलमै मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृत टोली खटिएर घटनाका बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । पछिल्ला समय जिल्लामा करेन्ट लागेर अकालमै ज्यान गुमाउने घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।