दमकको खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन

दमक ,१९ साउन । झापाको दमकमा डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छैन् । २०७९ साल फागुनमा स्थापना गरिएको प्रयोगशाला अझैसम्म सञ्चालनमा आउन सकेको छैन् ।विभिन्न खाद्य परिकारहरुको परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला त्तत्कालीन नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थिए ।

विभिन्न खाद्य तथा पेय पदार्थ पनि परीक्षण गर्नेगरी व्यवस्था गर्दै लैजाने उद्देश्यका साथ प्रयोगशाला सुरु भए पनि अहिले यो प्रयोगमा नआएको नगरपालिकाकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले बताईन् । “प्रयोगशाला प्रयोगमा ल्याउन नसकिएको सत्य हो”, उनले प्रयोगशाला सञ्चालनमा ल्याउन आवश्यक कर्मचारीको व्यवस्थापन नभएको कारण प्रयोगशालालाई नियमित सञ्चालन गर्न कठिनाई भएको बताईन् ।
यहाँ उत्पादन भएका तथा विक्री वितरण हुँदै आएका पानी उद्योगको पानीको शुद्धता परीक्षण गर्न सकिने, डेरीहरुबाट उत्पादन भएको दूधको गुणस्तर जाँच गर्न सकिने अवस्था अहिले पनि रहेको बताइन्छ । अन्य खाद्य सामग्रीको परीक्षण गर्ने उपकरणहरुको पनि व्यवस्था गरिने र विषादी समेत जाँच गरिने भनिए पनि अहिले प्रयोगशाला बन्द जस्तै अवस्थामा रहेको छ ।
स्थानीय सरकार आफैंले लगानी गरेर तयार पारेको खाद्य प्रयोगशाला सम्भवत् नेपालकै पहिलो भएको दाबी समेत गरिएको थियो । नियमित बजार अनुगमन गरिने र अनुगमनमा सङ्कलन गरिएका नमूनाहरु जाँच गर्ने भनेर प्रयोगशाला बनाईएपनि यसको प्रयोग नभएको बताइन्छ । दमक नगरपालिकाको आन्तरिक श्रोतबाट झण्डै ३० लाख खर्चेर बनाईएको प्रयोगशाला प्रयोगविहीन बने पनि यसमा जनप्रतिनिधिहरुको चासो गएको पाईंदैन ।

१५ महिनापछि समिति गठन

दमक नगरपालिकाले नयाँ जनप्रतिनिधि आएको १५ महिनापछि बल्लतल्ल बजार व्यवस्थापन तथा अनुमन समिति बनाएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको संयोजकत्वमा समिति बनेको हो ।
विषयगत समितिहरु निर्माणको क्रममा विवाद सिर्जना भएपछि बजार व्यवस्थापन तथा अनुमन समिति बन्न सकेको थिएन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी दमक नगरसभाले २०७७ सालमा नै बजार व्यवस्थापन तथा अनुगमन ऐन बनाएको थियो ।
प्रभावकारी रुपमा बजार अनुगमन नहुँदा दमकमा ब्यवसायीहरुले मनपरी गर्दै आएको गुनासो रहँदै आएको छ । यसअघि कार्यापालिका सदस्य भीम पौड्यालको संयोजकत्वमा समिति बनेको थियो । उक्त समितिले नियमित रुपमा बजार अनुगमन गर्दै आएको थियो । नगरपालिकाले सोही ऐन अनुसार बजार अनुगमनका लागि अनुगमन अधिकृतको पनि व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published.