मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै

मोरङ ,१९ साउन। मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो ।
स्वास्थ्य कार्यालय मोरङ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

उनका अनुसार मोरङमा ६ महिनादेखि ५९ महिनासम्मका ८५ हजार ६३ जना, ५ वर्ष देखि १४ वर्षसम्मका २ लाख ८ हजार १४ जना बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य छ । १ हजार ७३ खोप केन्द्रमा २ हजार ४३४ स्वास्थ्यकर्मीले बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप दिनेछन् ।

‘२५० जना सम्म बालबालिकाहरूको लागि १ वटा खोप केन्द्र तोकिएको छ,’ उनले भने, ‘एउटा खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मी र २ जना स्वयंसेवक हुनेछन् । चार दिनको अभियानपछि विराटनगर महानगरपालिकामा दादुरा रुबेला खोप अभियान भदौ ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारको सन २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य रहेको छ । ९५ प्रतिशत सबै क्षेत्रमा दादुरा रुबेला खोप र्पुयाउन यो रोगबाट बालबालिकाहरूलाई जोगाउन सकिने उनले बताए ।

‘खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु’, उनले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।’

आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय

दमक । झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको ती नगरपालिकाले जनाएको छ ।

आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै नगरक्षेत्रका सबै संस्थागत विद्यालय बन्द गरिएको भद्रपुर नगर शिक्षा शाखाले जनाएको छ । आँखा पाक्ने रोग विद्यार्थीमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले बिहीबार नगरपालिकासँग बैठकबसी सोमवारसम्म बिदा दिने निर्णय गरेको छ ।

आँखा पाक्ने सङ्क्रमणबाट धेरै विद्यार्थी सङ्क्रमित भएपछि बितमोड नगरक्षेत्रका विद्यालय आइतवार र सोमवार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको जनाएको छ । सङ्क्रमण नभएका विद्यालयहरुको लागि बिदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताए ।

आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकासँग दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बिर्तामोडका केही विद्यालयले आजदेखि नै पठनपाठन बन्द गरेका छन् ।

केहिदिनदेखि आँखा पाक्ने रोगका कारण झापाका अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छ । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published.