
दमक,१८ साउन । कोरोना संक्रमणबाट दमकका दुईसहित झापामा आज एकैदिन चार जनाको मृत्युभएको छ । मृत्यु हुनेमा दमक- १ का ६३ बर्षिय पुरुष र दमक- ७ का ५० बर्षिय पुरुष रहेको नगर स्वास्थ्य हशाखाले जनाएको छ ।
दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्र बेलडाँगी व्यवस्थापन समितिकी सदस्य सचिव देवी दंगालका अनुसार मृतक दुवैको दमकस्थित एड्भान्स अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै दमकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ । आज विहानसम्म दमकका तीन वटा कोभिड अस्पतालमा पाँच जनाको भेन्टिलेटरसहित ७७ जना संक्रमितको उपचार भईरहेको छ । कोेभिड उपचार केन्द्रमा ३५, आम्दा अस्पतालमा २५ र एड्भान्समा १७ जना उपचार रहेको उनले जानकारी दिईन् । आजनै ती अस्पतालबाट १४ जनाको डिस्चार्ज भएको जनाईएको छ ।
यसैगरि आजनै शिवसताक्षीका दुई जना संक्रमितको मृत्युभएको नगरस्थित स्वास्थ्य शाखाले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ११ दूधे निवासी ४३ वर्षीय महिला खनाल र शिवसताक्षी -६ शिवगञ्जका ६० बर्षिय अधिकारी थरका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । ती दुवैको विर्तामोडस्थित बिर्तासिटी र विराटनगरमा उपचारका क्रममा मृत्यु भएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।
यससंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।