विराटनगर ,१६ साउन। अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका थापा कोशी प्रदेशका छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसबाट दोस्रो पटक, कोशी प्रदेशको छैटौँ र प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्रीको रुपमा थापा नियुक्त भएका हुन् ।
यसअघि एमालेबाट पहिलो पटक शेरधन राई, दोस्रो पटक भीम आचार्य, तेस्रो पटक एमालेबाट विभाजित बनेको नेकपा (एकीकृत समाजवादी )का राजेन्द्रकुमार राई, चौथोपटक एमालेका हिक्मतकुमार कार्की, पाँचौँ पटक थापा आफैँ मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता बाँडफाँडमा देखिएको अस्थिरताको कारण प्रदेशसभाको दोस्रो कार्यकालमै तेस्रो मुख्यमन्त्री बनेका थापा प्रदेशको छैटौँ मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।
थापाको पहिलो कार्यकाल २२ दिनको मात्रै रह्यो । उनले विश्वासको मत लिने समय ९३०० दिन कटाउन पनि पाएनन् । अघिल्लो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थापाले सभामुखको भूमिकामा रहेका बाबुराम गौतमको छुट्टै समर्थनको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका थिए । सोही आधारमा नियुक्ति भएका उनको नियुक्ति प्रक्रिया रद्द गर्नुपर्ने माग गर्दै एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा अन्तिम आदेश दिँदै सर्वोच्चले ६ दिन अघि मात्र थापाको मुख्यमन्त्री नियुक्ति खारेज गरेको थियो ।
दोस्रो पटकमा भने काँग्रेस नेता थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराउँदै ४७ सांसदको दाबी प्रस्तुत गरेका हुन् । थापाले काँग्रेसका २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद सहित ४७ सांसदको समर्थन पाएका छन् । प्रदेशसभामा ९३ सांसद रहेका छन् । जसको बहुमतसंख्या ४७ हो । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आजै ५ बजेसम्मको समय दिएका थिए ।