दमक, १६ साउन । दमक भित्रका विभिन्न डेन्टल , अस्पताल तथा फार्मेसीहरुले प्रयोग गरेका सिरिन्जलगायतका संवेदनशील औषधीजन्य फोहोर सडकमा फाल्ने गरेको पाइएको छ ।अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नगर्दा फोहोर व्यवस्थापन निकै सकस बन्दै गएको पाइएको हो । औषधीजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा घातक असरसम्म पर्ने गरेको सरसफाइमा परिचालित मजदुरको गुनासो छ ।
यहाँका केहि क्लिनिक तथा अस्पतालले फोहोर व्यवस्थापन गर्ने कुनै उपकरण नराख्ने र रातको समयमा खोलानाला तथा सडकमा फ्याँक्ने गरेको पाइएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले उल्लेख गरे । त्यस्ता फोहोरहरु जथाभावी सडक तथा खोलानालामा फ्याँक्ने गरेको उनले सुनाए ।
दमकको मुख्य बेलडाँगी चोक सडक र अर्को होटल लाइनमा नै ठुलो परिमाणमा प्रयोग भएका सिरिन्ज, औषधीका बट्टा तथा खोल फ्याँकिएको देखेपछि त्यहाँ पुग्दा अवस्था जटिल देखेको भट्टराईले बताए । उनले भने, –‘ सिरिन्जजन्य फोहोर फयाकिएको सडक आसपासमा लगाएको सिसिटिभीको फुटेज हेरेर फ्याक्नेको पहिचान गरि दण्डीत गर्ने प्रयास भइरहेको छ ।’
सामाजिक अगुवा हेमसागर अधिकारीका अनुसार रातको समयमा ल्याएर सडकमा नै औषधीजन्य सामाग्री फाल्ने गरेको पाएपछि नगरपालिकालाई गुहार मागिएको हो। उनले भने, “धेरै पटक आफैँ हटाउन खोज्दा हात पनि घोचेको छ। यसमा स्थानीय सरकार र सरोकारवाला गम्भीर बन्नु पर्छ भनेर हामीले माग गरेका छौँ।”
स्वास्थ्य प्रमुख भट्टराईले भने, “हामीले नजिकका डेन्टलमा गएर पनि बुझेका छौँ, त्यहाँबाट फालिएको फोहोर सडक सरसफाइकर्मीले लैजाने उचित ठाउँमा नफ्याँकेको भन्ने जवाफ आएको छ। अस्पतालजन्य फोहोर बाहिर पठाउनुभन्दा पहिले त्यसको सङ्क्रमण रहित बनाउनुपर्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन्,” भट्टराईले भने, “अस्पतालजन्य फोहोर रोगको कारक बन्न सक्छ र यस विषयमा गम्भीर हुनु पर्छ।”
दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा नेक्स्टइरा इनर्जी प्रालिले गरेको छ । दमक नगरपालिकाको वातवरण तथा सरसफाइ शाखाका अनुसार दमक क्षेत्रमा दैनिकजसो १५ देखि २० टन फोहोर उत्पादन हुने गरेको छ । यसको करिब ७५ प्रतिशतमात्र सङ्कलन हुने गरेको छ । यसमा ६६.५२ प्रतिशत जैविक फोहोर रहेको छ ।