
उर्लावारी,१७ साउन । जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाका लागि आयआर्जनको माध्यम बन्ने गरेको छ । मोरङको उत्तरी ग्रामीण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरोलाई घरायसी जोहो गुजार्नका लागि आयआर्जन स्रोत बनाउदै आएका छन् ।
जिल्लाको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।
मोरङको उत्तरीक्षेत्रमा अवस्थित यो चारकोसे झाडीमा प्राकृतिक रुपमा उम्रिने निगुरो यसक्षेत्रका निम्न वर्गका मानिसहरुका लागि आयस्रोतको बन्ने गरेको छ । निम्न आयश्रोत भएका सर्वसाधारण दिनहुँ यो जंगलमा निगुरो टिप्न प्रवेश गर्छन । उर्लाबारीको उत्तरी वडाका साथै मिक्लाजुङसहित अन्य गाउँपालिका सर्वसाधारण समेत यहाँ निगुरो संकलन गर्न आउँछन् ।
जंगलबाट संकलन गरिने निगुरो अधिकांश रुपमा गाउँघरमै खपत हुने गरेको छ भने पूर्वपश्चिम महेन्द्र राजमार्गको सडक किनार यसको मुख्य बिक्री स्थल हो । राजमार्गको यात्रा गर्ने अधिकांश यात्रीहरुले मोरङको पथरी, कानेपोखरी र भाउन्ने चोकमा नियमित विक्रीका लागि राखिने निगुरो खरीद गरी लान्छन । पौष्टिक सागको रुपमा भान्सामा प्रयोग गरिने निगुरो २० रुपैयाँदेखि ३० रुपैयाँ मुठासम्म बिक्री हुँदै आएको छ ।
उनीहरुका अनुसार धेरैजसो निगरो लेटाङ, कानेपोखरी, लक्ष्मीमार्ग, बेलबारीका जङलबाट निगुरो टिपेर विक्री गरिआएको छ । यसै निगुरोले सो क्षेत्रका मानिसहरुको जीविकापोर्जन धानिरहेको छ।
लेटाङकी सोममाया तामाङको लागि अहिलेको समय कमाइको हो। प्रत्येक वर्ष जेठदेखि असोजसम्म उनी जङलमा उम्रने निगुरो टिप्न र विक्री गर्न व्यस्त हुन्छिन्।
विगत ११ वर्षदेखि निगुरोबाट तामाङले आफनो परिवारको गुजारा चलाउदै आएको बताँउछिन्। लेटाङ, बेलबारी आसपासका करिब ३ सय घरपरिवारले निगुरो विक्री गरेरै परिवार चलाउने बताएकी ३८ वर्षिया तामाङले सिजन बाहेक अन्य समय यहाँका मानिसहरु निगुरोको स्थानमा अन्य काम गर्ने उल्लेख गर्छिन्।
त्यसैगरि, लेटाङ नगरपालिका–४ का जंगबहादुर तामाङपनि जेठ महिनापछि स्थानीय जङलमा निगुरो टिप्न व्यस्त हुन्छन्।
यसक्रममा उनीमात्र नभएर श्रीमती गीतापनि असोजसम्म निगुरो खरिदविक्रीमा दैनिकी बिताँउछिन्। ११ वर्षदेखि नै यस कार्यमा सक्रिय रहदै आएको तामाङ परिवारले वर्षदिनको लागि परिवारका लागि खर्च जोहो गर्नेगर्छन्।
निगुरोको सन्र्दभमा गीता भन्छिन्, ‘विगत ११ वर्षदेखि यस कार्यमा लागियो। राम्रै आम्दानी छ। ज्याला मजदुरी गर्न सीप नभएपनि, निगुरोको साधारण ब्यवसायले खानलाउन पुगेको छ।’ दैनिक २ हजार रुपैया आर्जन हुने निगुरो सागको ब्यवसायबाट ६ जनाको परिवार र छोराछोरीको शिक्षामा तामाङ परिवारलाई सहज भएको उनीहरु बताउँछन्।
त्यसैगरी, लेटाङ–३ की अम्बिका विकको ६ जनाको परिवारको दैनिकीपनि जंगलको निगरोबाटै चलेको बताइन्। निगुरोको सिजन सकिएलगत्तै ज्याला मजदुरी गर्ने गरेको बताएकी विकाले भनिन्, ‘ज्यालामजदुरीबाट जीवन धान्न गाह्रो भइरहेको अवस्थामा निगुरोले घर खर्च चलाउन, छोराछोरी पढाउन सजिलो भएको छ।’
स्थानीयहरुका अनुसार १० वर्षका बालबालिकादेखि ७० वर्ष वृद्धवृद्धासमेत निगुरो टिप्न कानेपोखरी जंगलमा पुग्ने गर्छन्। तामाङका अनुसार जंगलको निगुरोबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीयको घरखर्च चलेको छ।
निगुरोकै आम्दानीबाट कतिपयले लगानी र बचत पनि गरेकाछन्। स्थानीयले ठेकेदारलाई निगुरो साढे १२ रुपैयाँ प्रति मुठाका दरले बिक्री गर्छन्।
निगुरोको कारोबारमा दिनानुदिन बृद्धी हुदै गएपछि स्थानीय जनसेवा सामुदायिक र कमलपुर सामुदायिक वन उपभोक्ता समितिले १ लाख २५ हजार रुपैयाँका दरले बलराम राई, हिमाल राई र उदय अधिकारीलाई ठेक्का दिएकाछन्।
उनीहरुका अनुसार कानेपोखरीको जंगलमा संकलन हुने निगुरो इटहरी, दमक, बिर्तामोड, काँकडभिट्टा, विराटनगरदेखि र काठमाडौं कालीमाटीसम्म पुग्ने गरेको छ।