जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

दमक, १६ साउन । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा ६ महिना कैद फैसला भई फरार रहेका जिल्ला झापा मेचीनगर १० बस्ने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए । पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन् ।

वि.सं.२०७० साल असार १३ गते ६ महिना कैद फैसला सुनाएका फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाइएको रिजालले जनाए ।

यसैगरी, अदालतको मिति २०७२ साल असार १ गतेको फैसला अनुसार सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपियाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका वडा नं.४ बस्ने सुसन चुडाललाई पनि प्रहरीले पक्राउ गरेर कारागार पठाइएको छ ।

प्रहरीका अनुसार तीन वर्षअघि बालयौन दुरुपयोग मुद्दामा १ वर्ष कैद, तथा प्रतिवादीले पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाई भराई दिनु पर्ने फैसला भएपछि फरार रहेका मेचीनगर नगरपालिका वडा नं.९ का नाम नखुलाइएका अर्का व्यक्तिलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई साढे ५२ वर्ष कैद

आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजायको फैसला भएको छ ।१० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदुधकुण्ड नगरपालिकाका ३५ वर्षीय पुरूषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो । गुरुङ थरका ती युवकलाई ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए । ती पुरूषविरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । ३ वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए । उक्त मुद्दा हाल उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.