
बिर्तामोड, १६ साउन । खोप लुकाउने बिर्तामोड नगरपालिकाका कोभिड पर्सन ओम खड्कामाथि कारवाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
आज बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल क्रान्तिकारी झापाले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् । कोरोनाविरुद्धको खोपमा कालोबजारी गर्ने बिर्तामोड नगरपालिकाका कोभिड पर्सन खड्कामाथि कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । नेपाल विद्यार्थी संघ झापाका सचिव पोषराज कट्वालले जबसम्म कालोबजारीमा संलग्न खड्कासहितका कर्मचारीको पहिचान गरेर कारवाही नभएसम्म तालाबन्दी नखोलिने बताएका छन् ।
यसैगरी अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले संघर्षको कार्यक्रम निरन्तर रुपमा अगाडी बढाउने भन्दै यहाँ भएका सबैखाले विकृति अन्त्यको लागि आफूहरु लागेको बताए । बिर्तामोड नगरपालिकाका कोभिड पर्सन खड्कालाई कोरोनाविरुद्धको भेरोसिल खोपसहित बिर्तामोडको एक होटलबाट प्रहरीले हिजो पक्राउ गरेको थियो ।
कार्वाही गर्न चौतर्फी माग
सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका फोकल पर्सन ओम खड्कामाथि कार्वाही गर्न चौतर्फी माग भएको छ ।
मानव अधिकार संजाल झापाले एक प्रेस विज्ञप्ति जारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रुपले होटलमा लुकाइ राखेको अबस्थामा खोप बरामद हुनुले लज्जास्पद र निन्दनीय भएको जनाएको छ । महासचिव डा। रुपकप्रसाद खनालले जारी गरेको विज्ञप्तिमा जनताको स्वास्थ्य सम्बन्धी अधिकारमाथि खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई कडाभन्दा कडा कार्वाही गरी आगामी दिनमा खोपलाई दुरुपयोग हुन नदिई सहज बनाउन बिर्तामोड नगरपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग माग गरिएको छ ।त्यस्तै नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले कार्वाहीको माग गरेको छ ।
एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न बिर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ ।साथै यस्ता घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र विभिन्न बहानाबाजीमा ओठे जवाफले आफ्ना आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको बिपक्षमा जनदबाब सृजना गर्न अपिल गरिएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले पनि कार्वाहीको माग गरेको छ । नगर अध्यक्ष रन्जु प्याकुरेलले एक विज्ञप्ति जारी गरी जनस्वास्थ्यसँग जोडिएको संबेदनशील बिषयमा जिम्मेवार निकायका व्यक्ति नै संलग्न रहनुले जनआक्रोश चुलिएको अवस्थामा सत्य तथ्य छानबिन गरी जनतालाई सुसूचित गर्न र त्यस्ता कर्मचारीलाई अबिलम्ब कार्वाही गर्न स्थानीय सरकारसमक्ष माग गरेकी छन् ।
त्यस्तै सामाजिक संजालमा विभिन्न व्यक्तिहरुले आक्रोश पोख्दै कार्वाहीको माग गरेका छन् ।
सहायक प्रजिअ रिमालको संयोजकत्वमा छानवीन समिति
बिर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले बिर्तामोडको खोप काण्ड ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको छ ।
छानबिन समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका डीएसपी प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान झापाका अनुसन्धान अधिकृत किरण भट्टराई छन् ।
बैठकले बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोप सम्बन्धि कुनै गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।
बैठकले जिल्लामा खोप लगाएको तथा खोप सम्बन्धि सम्पूर्ण विवरण सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । बैठकले झापाका पेट्रोल पम्पहरुमा काम गर्ने ३ सय जना मजदुरलाई चारआलीस्थित आयल निगमको डिपोमा कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।