
कमल ,१२ साउन । दमकसंग जोडिएको कमल गाउँपालिकामा पनि भोलि बुधबार रातीदेखि एक साता निषेधज्ञा गरिने भएको छ । पछिल्ला समय गाउँपालिका भित्र कोरोना संक्रमण फैलिदै गएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साता लामो निषेधज्ञा गरिने निर्णय भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
गाउँपालिका कार्यालयमा आज बसेको राजनैतिक दलहरुको सर्वदलिय वैठकको निर्णय अनुसार गाउँपालिका क्षेत्रभित्र बढ्दै गएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न भोलि बुधबार राती १२ बजेदेखि साउन २० गते राति १२ बजे सम्म पूर्णरुपमा निषेधज्ञा गर्ने निर्णय गाउँपालिकाले जनाएको छ ।
निषेधज्ञाका समयमा औषधी पसल बाहेक सवै प्रकारका व्यापार, व्यवसाय, होटल, रेष्टुरेन्ट, उद्योग, कलकारखाना बन्द रहने छ भने दुग्धजन्य सवारी साधन र दुध डेरी व्यवसाय बिहान १० बजे सम्म र बेलुकी ४ बजेदेखि ६ बजे सम्म मात्र सञ्चालन रहने जनाईछ ।
कक्षा ११ को पूर्व प्रकाशित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन हुने तर होम–ट्यूसन र भौतिक उपस्थितिमा हुने सबै प्रकारका सिकाइ क्रियाकलाप बन्द रहने, वैकल्पिक विधिबाट सञ्चालन हुने शिक्षण सिकाइ क्रियाकलापलाई असर नगर्ने , बैंक तथा वित्तिय संस्था, सहकारी, सरकारी कार्यालय, विद्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सेवा बन्द रहने तर विद्यालय तथा अन्य कार्यालयहरुको आन्तरिक प्रशासन भने सुचारु रहने उल्लेख छ ।
त्यस्तै ,अत्यावश्यक बाहेक सबै प्रकारका यातायातका साधनहरु सञ्चालन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले जानकारी दिए ।
यससंगै जिल्लाको माइपश्चिमका गौरीगञ्जबाहेक दमक,शिवसताक्षी, गौरादहले आ–आफनो पालिका क्षेत्र भित्र एक साता लामो निषेधज्ञा लगाएका छन् ।
मेचीनगर पनि बुधबारदेखि सिल
मेचीनगर नगरपालिकाले साउन १३ गते बुधबार राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र सिल गर्ने निर्णय गरेको छ । आज मंगलवार बसेको कार्यपालिकाको बैठकले एक सातासम्म नगर सिल गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरको कोभिड–१९ संक्रमण नियन्त्रण समितिको सिफारिमा आज कार्यपालिकाको बैठक बसेको थियो । सिल अवधिभर अस्पताल, स्वास्थ्य चौकी, औषधि पसल भने बन्द हुने छैनन् । दुग्धजन्य पदार्थ, तरकारी, माछामासु पसल विहान ६ बजेदेखि ८ बजे दुई घण्टा खुल्ला रहने मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम ओझाले जानकारी दिए ।
पेट्रोलियम पदार्थ, वरुणयन्त्र, एम्बुलेन्स, शव वाहन, फोहोरमैला व्यवस्थापन, पशुपंक्षीलाई आवश्यक पर्ने आहारा, इन्टरनेट, सञ्चार बाहेकका सवारीसाधन पूर्ण रुपमा रोक लगाइएको छ ।
व्यापार–व्यावसाय, उद्योग कलकारखाना, बैंक, सम्पूर्ण वित्तीय संस्था पूर्णरुपले बन्द हुनेछन् । हाइवे बाहेकका सबै सडकमा आवतजावत बन्द गरिने छ । एक साता भर सरकारी कार्यालयका अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द हुने छन् ।
त्रिभुवन विश्व विद्यालय तथा अन्य विश्व विद्यालय र शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा स्वास्थय मापदण्ड पुरा गरी तोकिएको केन्द्रबाट सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख ओझाले बताए ।