पाँचथर,९ साउन । मेची राजमार्ग अन्तर्गत पाँचथर खण्डमा मंगलबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो १ बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना हुदाँ अन्दाजी ३५ वर्षीय पुरुषको निधन भएपनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए ।
दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा इलाम दानावारी ८ घर भएका चालक अर्जुन विश्वकर्मा, ताप्लेजुङ पाथिभरा याङवरक–१ बस्ने बुद्धहाङ लिम्बू, ताप्लेजुङ मिक्वाखोला–५ बस्ने इसेटिमा शेर्पा, पाँचथर हिलिहाङ–१ का रोशन श्रेष्ठ र भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा–३ का सरोज मादेन, ताप्लेजुङ फक्ताङलुङ–३ का अजय लिम्बू, इलाम सिद्धिथुम्का–८ की निरुता सिन्चेउरी कालिकोट जिल्लाको पतञ्जली गाउपालिका–१ का सुमन खड्का, काठमाडौं–२० की मिना लिम्बू, पाँचथर फाल्गुनन्द ३ का राम नेम्वाङ, फिदिम १० की सविना विक, फिदिम–१० कै पुस्तिका विश्वकर्मा घाइते भएका छन् ।
घाइतेमध्ये सविना विश्वकर्मा र मिना लिम्बूलाई थप उपचारका लागि झापा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।