वराहक्षेत्रमा किशोरीको समूहबिच भएको कुटपिटमा संलग्न पाँचै जना पक्राउ

वराहक्षेत्र,५ साउन । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर- ९ स्थित चिहान डाँडामा किशोरीहरूको दुई समूह बिच भएको कुटपिटमा संलग्न मुख्य नाइकेसहित सबै ५ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाका मुख्य योजनाकार वडा नम्बर ८ की २२ वर्षकी बिनिता उरावँसहित ९ नम्बर वडा प्रकाशपुरकी १९ वर्षकी प्रीति लिम्बू ,१८ वर्षीया दुर्गा राई, १९ वर्षकी सन्जिता र निहाङ्ग राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न प्रिंतीलाई असार ३१ गते उनको घरबाट, मुख्य आरोपी बिनिता उरावँ र दुर्गा राईलाई साउन २ गते इटहरीको बसपार्कबाट अन्य दुई सन्जिता र निहाङ्ग राई ४ गते नगरपालिकाको वडा नम्बर -३ स्थित नडाहा चोकमा चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राजेश दत्तले बताए ।
सन्जिता र निहाङ्गलाई शुक्रबार म्याद थप गरिने छ भने यस अगाडि पक्राउ गरिएको बिनिता, प्रीति र दुर्गाको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनि दत्तले जानकारी दिए ।

२९ गते साँझ ५ बजे भएको घटनामा बिनिता उरावँ, प्रीति लिम्बू, सन्जिता, निहाङ्ग र दुर्गा राईको समूहले सन्ध्या परियार, नबिना विश्वकर्मा र मनीषा राईलाई निर्घात कुटपिट गरेको पीडितलाई उद्धृत गर्दै प्रनि दत्तले बताए ।

घटनामा पीडित सन्ध्याले बिनितालाई मेरो ब्याईफ्रेन्डसंग किन बोलिस् भनेर गाली बेइज्जती गरेको हुँदा त्यसको बदला लिन बिनिता उरावँको समूहले सन्ध्याको समूहलाई झुक्काएर बोलाएर कुटपिट गरेको प्रनि दत्तले बताए ।

मादकपदार्थ खाएका उनीहरूले बिनिताको मोबाइलवाट एक जनाले भिडियो सुट गर्दै पीडितहरूलाई लात्ती र मुक्काले कुटपिट गरेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.