करोडौं रकम लिएर फरार भएका गौरादहका सुनचाँदी व्यवसायी पक्राउ

गौरादह, ४ असार । दुई साता अघि करोडौं रुपैया लिएर फरार भएका झापा, गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका छन् ।गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेको कारण आफु फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर भागेका विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।
गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
विश्वकर्मा पक्राउ परेको आधिकारिक जानकारी प्रहरीले दिएको छैन् । स्रोतका अनुसार उनलाई पक्राउ गरेपछि पूर्वीनाका काँकरभिट्टास्थित इलाका प्रहरी कार्यालयमा राखिएको थियो । त्यहाँबाट दमक लैजाने बताइएको छ ।
उनलाई भारतबाट पक्रेर ल्याइएको हो कि उनी आफै सीमावर्ती प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका हुन् भन्ने पुष्टि हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.