दमकका शैक्षिक संस्था कक्षा ११ मा चर्को शुल्क असुल्दै, स्थानीय सरकार मौन

दमक, २ साउन । झापाको दमकमा कक्षा ११, १२ को पठनपाठनका लागि निजी शैक्षिक संस्थाहरुले चर्को शुल्क असुल्दै बिद्यार्थी भर्ना गर्न थालेका छन् ।कक्षा ११ , १२ सहितको अध्यापन गराउँदै आएका शिक्षण संस्थाहरुले नियमानुसार स्थानीय सरकारद्धारा शुल्क निर्धारण नहुँदै आआफनै शुल्क दर कायम गरि विद्यार्थी भर्ना लिन थालेका हुन् ।
स्थानीय सरकार मातहतको नगर शिक्षा समिति शुल्क निर्धारणको प्रकृयामा रहँदै शैक्षिक संस्थाहरुले भने आफू खुशी हुँदै नभएका सेवा सुविधाका शीर्षकमा समेत अग्रिम शुल्क असुलेर अभिभावकको ढाड सेकिरहेको पाईएको हो ।

सरकारी अधिकारीहरु समेत निजी शैक्षिक संस्थाका बिषयमा बुझने प्रकृयामा रहेको भन्दै त्यस्ता संस्थाको बचाउ प्रयासमा लागेका छन् । नगरपालिकाका शिक्षा अधिकृत सोम गुरागाइँ अन्य ठाउँको प्राक्टिसका बारेमा बुझ्ने काम भइरहेको बताउँछन् । अभिभावकहरुको गुनासो आएको भन्दै त्यस बारे बुझने उनको भनाई छ ।

दमकमा आधा दर्जन स्कूलले कक्षा ११ र १२ को पठनपाठन गरिआएका छन् । ती सवै विद्यालयले कक्षा ११ को भर्ना लिदैआएका छन् । कतिपय विद्यालयले एसईई परीक्षाको नतिजा नआई भर्ना लिदैआएका थिए । यसवर्ष अघिल्लो वर्षको तुलानामा झण्डै १५ प्रतिशत बढी शुल्क बृद्धि गरेको पाईएको छ । स्थानीय एक अभिभावकले विद्यार्थी भर्नामा मनपरी गरिआएको आरोप लगाउँछन् । भर्ना शुल्क लगायत अन्य शुल्कमा समेत भारी भिन्नता भएको उनले गुनासो सुनाए ।
                    मनपरी भर्ना
दमक ८ मा रहेको शारदा माविले कक्षा ११ मा भर्ना लिइरहेको छ । जुन विद्यालय युनिक कलेजसंगै झापा क्याम्पस नाम जोडेर विज्ञापन गरिरहेको पाईएको छ । त्यो विद्यालयले कक्षा ११ मा बार्षिक शुल्क मात्रै ३८ हजार ५०० रुपैयाँ लिइरहेको छ ।

दमक ४ मा अवस्थित आस्था कलेजले पनि कलेजसंगै नाम जोडेर एकता एकाडेमीमा कक्षा ११ का लागि नयाँ विद्यार्थी भर्ना लिदै आएको छ । त्यो संस्थाले बार्षिक ४० हजार देखि ७० हजार रुपैयाँसम्म अध्ययनका लागि शुल्क लिइरहेको बताइएको छ । करिब ३०० बिद्यार्थी यसपटक भर्नाको प्रकृयामा रहेको सो एकाडेमीले व्यवस्थापन संकाय र होटल मेनेजमेन्टका लागि बिद्यार्थी भर्ना लिइरहेको एकाडेमीका प्रमुख टेकनाथ भण्डारीले बिताए ।

दमक ५ फर्निचर लाइनमा रहेको दमककै अर्को शैक्षिक संस्था ग्लोबल एजुकेशन एकाडेमीले समेत उस्तै चर्को शुल्क लिएर कक्षा ११ मा बिद्यार्थी भर्ना लिइरहेको छ । सो एकाडेमीले विभिन्न संकायमा यसबर्ष ८०० बिद्यार्थी भर्ना लिने योजना बनाएको अध्यापक श्याम आचार्यले बताए । सिद्धार्थ मावि र मोडल कलेजको नाम जोडेर मदरल्याण्ड स्कूलले पनि कक्षा ११ मा उसैगरी चर्को शुल्क असुल्दै बिद्यार्थी भर्ना लिइरहेका छन् ।
दमक नगर शिक्षा समितिका संयोजक कुबेर भटटरार्ईले कक्षा ११ को शुल्क निर्धारणका लागि स्थानीय सरकार अन्तिम तयारीमा रहेको बताए । उनले नगरपालिकाद्धारा गठन गरिएको शुल्क निर्धारण समितिले कक्षा ११ को शुल्क निर्धारण गरिनसकेको बताए ।
उनले नगरमा सञ्चालित कक्षा ११, १२ विशेष अध्यापन गराउने बिद्यालयले ति कक्षामा लिने मासिक शुल्क लगायत सबै किसिमका शुल्कको अंक निर्धारण गर्ने र यसको कडाइँसाथ कार्यान्वयनमा लाग्ने बताए ।

दमकमा स्थानीयका अतिरिक्त आसपासका पालिका र पूर्वी पहाडी जिल्लाहरुबाट समेत ठुलो संख्यामा बिद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि आउने गर्छन् । ति बिद्यार्थी ओसारपसारका लागि सवारी साधन प्रयोग वापत, प्राक्टिकल वापत, पुस्तकालय, व्यवस्थापन लगायतका शीर्षकमा थप रकम यि शैक्षिक संस्थाहरुले असुल्ने गरेका छन् । बिद्यार्थी संगठन, कतिपय दल र समूहहरुलाई पैसा दिएर र कतिपय सञ्चार माध्यमहरुलाई उपयोग गरेर ति शैक्षिक संस्थाहरुले अभिभावकमाथि शुल्कको भार लगाउदै आएपनि स्थानीय सरकार मौन देखिएको अभिभावकहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published.