पछिल्लो ६ घण्टामा झापामा धेरै भारी वर्षा

झापा,३ साउन । पछिल्लो ६ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा झापामा भएको मापन गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार बिहान ७ः४० बजे अपडेट गरेको विवरणअनुसार पछिल्लो ६ घण्टामा झापाको शनिश्चरेमा १००.२ मिलिमिटर वर्षा भएको हो।

सो अवधिमा देशभरमा सबैभन्दा बढी वर्षा यही हो। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।यसैगरी पछिल्लो ६ घण्टामा देशका अन्य दुई स्थानमा भारी वर्षा भएको छ ।महाशाखाको तथ्यांकअनुसार सो अवधिमा डोटीको दिपायलमा ५४.८ र उदयपुरको मुर्कुची बजारमा ५४.२ मिलिमिटर वर्षा भएको हो। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् भारी वर्षा भन्छन्।देशका अन्य स्थानमा भने हल्कादेखि मध्यमसम्म वर्षा भएको छ ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ । यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।

 

Leave a Reply

Your email address will not be published.