सामाजिक सञ्जालबाट ठगी गर्ने एक भारतीयसहित सात पक्राउ

झापा,२८ असार । झापामा बसेर सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक भारतीयसहित सात जना पक्राउ परेका छन् । तीमध्ये तीन जना इन्जिनियर भएको खुलेको छ ।गुडनेस इशराल नामको फेसबुक आइडीबाट उदयपुरको कटारी नगरपालिका–४ की ३६ वर्षीया सरिता तामाङलाई साथी बनाइ एक लाख तीस हजार ६२७ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य, जिल्ला पौडीगढवाल व्लक एमकेश्वर, पोष्ट अफिस भृगुखालका ३६ वर्षीय प्रविण भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। आइटी इन्जिनियर रहेका भट्ट पछिल्लो समय ठगी गर्ने उद्देश्यले झापाको विर्तामोड नगरपालिका–५ इन्द्रटोल बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी सप्तरीको राजविराज नगरपालिका–१ डुम्रिका २५ वर्षीय डम्बर साह, बिष्णुपुर गाउँपालिका–२ सिम्रहा सप्तरीका २० वर्षीय निरजकुमार साह रहेका छन् ।उनीहरू दुबै जना आइटी इन्जिनियर हुन् । प्रविण जेठ ८ गते, डम्बर असार १० र निरज जेठ २१ गते पक्राउ परेका हुन् ।
त्यस्तै गुल्मीको इस्मा गाउँपालिका–५ का ३२ वर्षीय धु्रव थापा, मोरङको विराटनगर महनगरपालिका–२० का ३७ वर्षीय हेमराज साह, झापाको झापा गाउँपालिका–१ बेलैतिवारीका ३१ वर्षीय वरजहान श्रेष्ठ र बाराको कलैया उपमहानगरपालिका–२० बसन्तपुरका २३ वर्षिय रुस्तम मन्सुरी रहेको एसपी फुयाँलले बताए। धु्रव असार ४, हेमराज, वरजहान र रुस्तम तीनै जना असार १३ गते पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सातै जनालाई बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गरिएको हो । उनले पक्राउ परेका व्यक्तिहरू विज्ञसहितको संगठित अपराधमा संलग्न रहेको बताए । आरोपितहरूसँगको बयानलाई उद्धृत गर्दै उनले भने, ‘नेपालको राजश्व ठगीमा यस्ता अपराधीहरू धेरै छन् । विदेशबाट आउने रेमिट्यान्स कम गर्ने र आफूहरूमार्फत नै हुण्डीको कारोबार गरी संगठितरूपमै मुलुकको राजश्व छली गर्ने गरेको पाइयो।’
एसपी फुयाँलले थपे, ‘रगत नदेखिने र घाउचोट नलाग्नेगरी अपराधको स्वरुप परिवर्तन भएको र त्यसमा पनि सबैभन्दा बढी आर्थिक अपराध रहेको छ । पार्सल आयो, उपहार चिठ्ठा प¥यो भन्दै फोन, मेसेज, फेसबुक, वाट्सएपजस्ता सामग्री प्रयोग गरी ठगीका स्वरुपहरू परिवर्तन हुँदै गएको छ ।’
आरोपितहरूले ‘फेसबुकबाट लगेजलगायत अमेरिकी डलर ७० हजार पठाइदिएको छु, एयरपोर्टमा उक्त सामान रोकिएकाले जतिसक्दो चाडो एक लाख तीस हजार ६२७ रुपैयाँ पठाउनुस अनि तपाईँको सामान पाउनु हुन्छ’ भन्दै प्रलोभनमा पारेका उनले बताए। उक्त रकम अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर वापतको रकम रहेको बताउने गरेको अनुसन्धानबाट खुलेको छ ।
उनका अनुसार पक्राउ परेका व्यक्तिहरूको खातामा अवैध रकम जम्मा हुने र आफूले पाउने प्रतिशत राखी पुनः अर्को खातामा पठाउने गरेको तथ्य खुलेको छ । यसरी विभिन्न व्यक्ति तथा निजहरूले खोलेको संस्थाको खातामा एक वर्षमा एक अर्ब नौ करोड एक लाख ४२ हजार ३९३ रुपैयाँ ट्रान्जेक्सन देखिएको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published.